
तनहुँ/ आँबुखैरेनी गाउँपालिकाले पहिलो पटक रेन्बो ट्राउट माछापालनको प्रारम्भिक परीक्षण गरेको छ । कृषिमा नयाँ सम्भावनाको खोजी गर्दै मत्स्यपालन क्षेत्रमा महत्वपूर्ण पहलका लागि पहिलो पटक रेन्बो ट्राउटको परीक्षण गरिएको हो ।
आँबुखैरेनी–२ स्थित खोलागाउँमा रहेको सहारा कृषि तथा पशुपक्षी फार्मसँगको साझेदारीमा रेन्बो ट्राउट माछापालनको सम्भावनाबारे प्रारम्भिक परीक्षण थालिएको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा. सन्तोष देवकोटाले जानकारी दिनुभयो ।
हाल सुरुआती चरणमा एक हजार पाँच सय रेन्बो ट्राउट माछाका भुरा पोखरीमा राखिएको गाउँपालिकाले जनाएको छ । परीक्षण सफल भएमा व्यावसायिक उत्पादनतर्फ अघि बढ्ने योजना रहेको देवकोटाले बताउनुभयो ।
भौगोलिक बनावट, चिसो र स्वच्छ पानीको उपलब्धता ट्राउट माछापालनका लागि उपयुक्त मानिन्छ । उहाँले भन्नुभयो, ‘हामीले सम्भाव्यता अध्ययनका लागि प्रारम्भिक परीक्षण सुरु गरेका हौँ । यसको नतिजा कस्तो आउँछ, त्यसपछि व्यावसायिक रुपमा माछापालनका लागि प्रोत्साहन गर्छौ ।’
रेन्बो ट्राउट उच्च मूल्यमा बिक्री हुने माछा भएकाले किसानका लागि आकर्षक आम्दानीको स्रोत बन्नसक्ने विश्वास गरिएको छ । साथै, खोलागाउँ क्षेत्रलाई मत्स्यपालनसँगै आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको देवकोटाको भनाइ छ ।
परीक्षण चरणको नतिजा उत्साहजनक आएमा आगामी दिनमा प्राविधिक सहयोग, तालिम र आवश्यक पूर्वाधार विस्तारमार्फत अन्य किसानलाई समेत यस व्यवसायमा आबद्ध गराइने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।
स्थानीय तहको यस प्रयासले कृषिमा विविधिकरण र आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको उहाँले उल्लेख गर्नुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस