आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

आमाको स्मृतिमा नगरप्रमुखले स्थापना गरे शैक्षिक अक्षयकोष


  • आफ्नै खबर
  • २०८२ कार्तिक १७, सोमबार मा प्रकाशित ४ महिना अघि
  • २२ पाठक संख्या
  • खोटाङ/  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नो स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । 

    शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित नगरप्रमुख भट्टराई तथा परिवारका सदस्यले आफ्नो गाउँ दोर्पाचिउरीडाँडामा सञ्चालित विद्योदय माध्यमिक विद्यालयमा ‘गुण-लक्ष्मी-पदमकुमारी अक्षयकोष-२०८२’ स्थापना गरेका हुन् । 

    नगरप्रमुख भट्टराईसहित सात सन्तानकी आमा स्व. पदमकुमारीका नाममा स्थापना गरिएको अक्षयकोषमा पहिलो चरणमा दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राईले जानकारी दिनुभयो ।

    नगरप्रमुख भट्टराईकी आमा  स्व. पदमकुमारीको गत वर्ष २०८१ कात्तिक १६ गते ८८ वर्षको उमेरमा निधन भएको थियो । 

    आफ्नो गाउँको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई केही सहयोग पुर्याउने उद्देश्यसहित परिवारका तर्फबाट अक्षयकोष स्थापना गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो ।

    ‘समाजमा देखिने धार्मिक संस्कार र संस्कृतिमा अनावश्यक खर्च गर्ने चलन बसेको छ । भड्किलो प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छ’, उहाँले भन्नुभयो, ‘आफ्नो संस्कार संस्कृति पनि जोगाउनुपर्छ । संस्कार संस्कृति जगेर्ना गर्दै शैक्षिक-सामाजिक रूपले अगाडि बढ्न सकियोस् भन्ने चाहनाले अक्षयकोष स्थापना गरिएको हो ।’ 

    नगरप्रमुख भट्टराई तथा परिवारका सदस्यद्वारा स्थापना गरिएको अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम विद्यालय प्रशासनसँगको सहकार्य र अक्षयकोष सञ्चालन समितिको निर्णयअनुसार वार्षिक रूपमा विद्यार्थीलाई पुरस्कार वितरण, शैक्षिक गतिविधि तथा आवश्यक सहयोगमा खर्च गरिने विद्यालयले जनाएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु