९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

कृषिलाई रोकेन जागिरले



  • आफ्नै खबर
  •     (३ हप्ता अघि)
  • पाठक संख्या १५२
  • कञ्चनपुर/  पुनर्वास नगरपालिका-१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयमा शिक्षक हुनुहुन्छ । तर, उहाँको परिचय शिक्षकमा मात्रै सीमित छैन ।

    उहाँ हाल व्यावसायिक कृषकको रुपमा पनि परिचित हुनुहुन्छ । २०७५ सालदेखि केराखेती गर्नुभएका घिमिरेले हाल साढे आठ बिघा जमिन भाडामा लिएर केराखेती गरिहनुभएको छ ।

    ‘वार्षिक पाँच लाख रुपैयाँ भाडा तिर्ने गरी जमिन लिएर केराखेती गरिरहेको छु’, घिमिरेले भन्नुभयो, “वर्षको १० लाख रुपैयाँ मुनाफा हुन्छ ।’ उहाँले केराखेतीबाट भएको आम्दानीले प्रत्येक वर्ष क्षेत्र विस्तार गर्नाका साथै छोराछोरीको अध्ययन खर्च जुटाइरहेको बताउनुभएको छ । 

    ‘केराको मूल्यमा उतारचढाव आउँदा कहिलेकाहीँ समस्या हुन्छ’, उहाँले भन्नुभयो, ‘कञ्चनपुर जिल्ला असारदेखि माघसम्म केरामा आत्मनिर्भर भइसकेको छ ।’ उहाँले बाह्रै महिना केरा उत्पादन गर्न यहाँ सम्भव नभएको बताउनुभयो ।

    केराखेतीबाट वार्षिक २० देखि ३० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको बताउँदै घिमिरेले केराखेतीमा आफूले १० जनालाई ज्यालादारीमा रोजगारी पनि दिएको जानकारी दिनुभयो ।

    ‘बिरुवा, केरा गोडमेल गर्न चाहिने कृषि औजारहरु सिँचाइलगायत विषयमा कृषि ज्ञान केन्द्रबाट हरेक बर्ष सहयोग मिलेकै छ’, गाउँमा रहेको अंशुवर्मा बिजवृद्धि कृषक समूहको अध्यक्षसमेत रहनुभएका घिमिरेले भन्नुभयो, ‘यहाँको बेलौरी र पुनर्बास क्षेत्रमा उत्पादन भएको केराका लागि बजारको समस्या छैन, धनगढी र अत्तरियामा खपत हुँदैछ ।’

    उहाँले गाउँमा कृषि समूहको नेतृत्व गर्दै बीउबिजन उत्पादनमा समेत जोड दिनुभएको छ । 

    एकजनालाई विदेशिनबाट रोक्यो
    त्यसैगरी, पुनर्बास नगरपालिका-६ का बिमल भण्डारी कृषि तालिमका सिलसिलामा २०७२ सालमा इजरायल पुग्नुभयो । साना किसान संस्थामार्फत ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेर एक वर्ष तालिम लिनुभएका भण्डारीले स्वदेश फर्किएपछि एक बिघाबाट केराखेती सुरु गर्नुभयो ।

    ‘केराखेती गरेको सात वर्ष भयो, रोजगारीका लागि विदेशिने कि भन्ने सोच यो खेतीले आउन दिएको छैन’, भण्डारीले भन्नुभयो, ‘अहिले छ बिघा खेतीमा लगाएको केरा खेतीबाट वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी भएकै छ ।’

    कृषि पेसा अङ्गालेर जीविका चलाउँदै आउनुभएका भण्डारीले १२ बिघा खेत भाडामा लिएर खेती गरिरहनुभएको छ । भारतमा केराको उत्पादन बढ्दा त्यसको असर आफूहरुलाई पर्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘भारतीय केरा रोक लगाएर स्वदेशी उत्पादनलाई बढावा दिन आग्रह गरिए पनि सुनुवाइ भएन ।’

    कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकृत धर्मबहादुर साउदले यहाँ प्रतिहेक्टर २० मेट्रिक टन केरा उत्पादन हुने जानकारी दिनुभयो । ‘एक पालिका एक उत्पादनअन्तर्गत भीमदत्त केरा खेतीका लागि छनोट भएको छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि ४० लाख रुपैयाँ विनियोजन भएको छ ।’

    –रासस