९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

कर्णालीको स्याउ चार दशकदेखि ‘ब्रान्डिङ’ गरिरहेका कर्मवीर



  • आफ्नै खबर
  •     (३ हप्ता अघि)
  • पाठक संख्या १५०
  • बाँके/  नेपालगञ्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा लागिपर्नुभएको छ । 

    कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघि कर्णालीको स्याउ तराईका सहरहरूमा पुर्‍याउनु ठूलो चुनौती थियो । प्रेमलाल साहु तेलीसँग वर्षौँअघि हवाईजहाजबाट नेपालगञ्जसम्म स्याउ ढुवानी गरेर बिक्री गरेको अनुभव छ ।

    कमजोर ढुवानी व्यवस्थापनका कारण स्याउको गुणस्तर कायम राख्न मुस्किल थियो । तर पनि उहाँले कर्णालीको उत्पादनलाई बजारसम्म पुर्याउने आफ्नो प्रयास जारी राख्नुभयो । उहाँ सम्झनुहुन्छ, ‘पहिला बाटो नहुँदा हवाईजहाजबाट नेपालगञ्ज ल्याएर बिक्री वितरण गर्नुपर्थ्यो । हवाईजहाजबाट ल्याउँदा स्याउ थिचिने सड्ने जोखिम धेरै हुन्थ्यो ।’

    कर्णाली राजमार्ग सञ्चालनमा आएपछि भने ढुवानीमा क्रान्तिकारी परिवर्तन आएको छ । अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भई स्याउ सिधै तराईका बजारहरूमा आइपुग्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले जुम्लाबाटै ग्रेडिङ गरेर प्याकिङ भएर आउने हुँदा कर्णालीको स्याउ गुणस्तरीय छ, त्यसैले विदेशी स्याउलाई विस्थापित गर्न सकेको छ ।’

    विषादी प्रयोग नहुने र गुणस्तर पनि राम्रो हुन थालेपछी कर्णालीको स्याउको माग बढेको छ । नेपालगञ्जमा विगत चार दशकदेखि कर्णालीको स्याउको थोक बिक्री गर्दै आउनुभएका प्रेमलालको अनुभवमा अहिले पश्चिम नेपालको फलफूल बजारमा कर्णालीको स्याउको दबदबा छ । भारतीय स्याउको तुलनामा सस्तो र राम्रो भएकाले उपभोक्ताले यसलाई बढी रुचाएका छन् ।

    सडक सञ्जालको सहजताले गर्दा अहिले सुर्खेत, नेपालगञ्ज, धनगढी, बुटवललगायतका सहरमा ग्राहक जुम्लाको स्याउ खोज्दै आउने गरेका छन् । हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आमउपभोक्ताको रुचिमा परेको छ । अहिले नेपालगञ्ज, कोहलपुर, सुर्खेत, दाङ र बुटवलका चोकचोकमा कर्णालीको जुम्ली स्याउले बजार तानेको प्रेमलालको भनाइ छ ।

    नेपालगञ्जमा कर्णालीको स्याउ थोक बिक्रेता रहनुभएका प्रेमलालले यहाँबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सहरमा स्याउ बिक्री वितरण गर्नुहुन्छ ।

    कर्णालीको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा उपलब्ध छन् । नेपालगञ्जमा कर्णालीको स्याउको आयात बढ्दै गएको छ । यातायातको सिधा पहुँच भएसँगै कर्णालीको जुम्लालगायत जिल्लाबाट सुर्खेत र नेपालगञ्जमा स्याउ आउने गरेको छ । 

    जुम्लाका फलफूल व्यवसायी र किसानमार्फत नेपालगञ्ज र सुर्खेतमा ल्याएर थोक फलफूल व्यापारीले मागअनुसार देशभर कर्णालीको स्याउ बिक्री गर्ने गरेको प्रेमलालले बताउनुभयो । उहाँका अनुसार गत वर्ष नेपालगञ्जबाट मात्र करिब तीन हजार क्विन्टल कर्णालीको स्याउ बिक्री भएको थियो । यो वर्ष पाँच हजार क्विन्टल बिक्री हुने अनुमान छ । 

    ‘अहिलेको उत्पादनले नेपाली बजारलाई तीन महिनालाई मात्र धानेको छ । सरकारले प्रोत्साहन गर्ने हो भने अहिलेको दोब्बर क्षेत्रफलमा स्याउ खेती गरी उत्पादन पनि दोब्बर लिन सकिन्छ’, प्रेमलालले भन्नुभयो, ‘उत्पादन बढाएर चिस्यान केन्द्रमा राख्ने हो भने नेपालको कुल स्याउ बजारको छ महिनालाई नेपाली उत्पादनले धान्ने सम्भावना र अवसर छ ।’ 

    कर्णालीमा अहिलेसम्म किसान र केही व्यवसायीले आफ्नो हिसाबले स्याउखेती गरिरहेका छन् । टिपाइ, ग्रेडिङ, प्याकिङलगायतमा ध्यान दिनसके कर्णालीको स्याउ नेपालभर बिक्री गर्न सकिने व्यवसायी साहुको भनाइ छ ।

    किसान र व्यवसायीको जोडबलमै कर्णालीको स्याउले बजार बनाएको उल्लेख गर्दै उहाँले सरकारले स्याउखेतीलाई प्राथमिकतामा राखेर प्रोत्साहनमूलक नीति र कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

    –रासस