कञ्चनपुर/ कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदायले सञ्चालन गरेको पाहुना घर (होमस्टे) फष्टाउँदै गएको छ । १० वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ नयाँ कटानमा स्थापना भएको होमस्टे राना थारू समुदायको आयआर्जनको माध्यम बनेको छ ।
विश्वमै बाह्रसिङ्गेको विशाल बथानले परिचित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको पाहुनाघरमा हिउँदका बेला बासका लागि आउँदा बाह्रसिङ्गे, चित्तल, मयूर, बदेल र विभिन्न प्रजातिका चराचुरुङ्गी सहज रुपमा अवलोकन गर्न पाइने गरेको होमस्टे सञ्चालकहरूको भनाइ छ ।
राना थारू सामुदायिक होमस्टेका अध्यक्ष परशुराम रानाले निकुञ्जसित जोडिएकाले बन्यजन्तु अवलोकन गर्न पाइने बताउनुभयो । ‘निकुञ्जले तार जाली नहालेका बेला त चित्तल, बँदेलले हाम्रो खेतबारीमा निकै नोक्सान पुर्याउथे’, अध्यक्ष रानाले भन्नुभयो, ‘निकुञ्जमा भ्रमण अवलोकनका लागि आउनेहरू प्रायः बासका लागि होमस्टेमै आउँछन् ।’
यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू आउने जाने क्रम चलिरहेको भए पनि आवश्यक प्रचार अझै नभएको उहाँको छ । ‘मुलुकका अन्य निकुञ्ज छेउछाउबाट यहाँ अवलोकनका लागि आउनेहरू बास यही बस्छन्’, रानाले भन्नुभयो, ‘गत वर्ष मात्रै तीन हजारको हाराहारीमा पाहुना आएको तथ्याङ्क छ ।’
उहाँले आठ वटा घरमा सञ्चालित होमस्टेमा सञ्चालकहरूले प्रतिघर वार्षिक डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको जानकारी दिनुभयो । निकुञ्जका साथै होमस्टेमा बास बस्ने पर्यटकलाई दोधारा चाँदनी झोलुङ्गे पुल र पिपरियामा रहेको हात्तीसारमा हात्ती अवलोकनका लागि पनि दूरीका हिसाबले नजिक पर्छ ।
‘यहाँ हिउँदको समय र फागुनदेखि जेठसम्म पर्यटकहरू बासका लागि धेरै आउँछन्’, अध्यक्ष रानाले भन्नुभयो, ‘राना थारू परिकारदेखि पहिरन र सांस्कृतिक कार्यक्रममा रमाउने गर्छन ।’ यहाँ गत साउनयता दुई सयभन्दा बढी पर्यटकले बास बसेको उहाँको भनाइ छ । रानाका अनुसार छिटपुट रुपमा होमस्टे सञ्चालनमा दातृ निकायले सहयोग गर्दै आएका छन् ।
‘१० वर्षअघि होमस्टे सुरु गर्दा पनि दाताहरूबाट सहयोग मिलेको थियो’, उहाँले भन्नुभयो, ‘यहाँको थारू नृत्यहरूको माग धेरै कार्यक्रममा अन्त पनि हुने गर्छ ।’ यहाँ बासका लागि आउने पर्यटकले स्थानीय उत्पादनको स्वादसमेत लिन पाउँछन् ।
भीमदत्त नगरपालिकाको नयाँ कटानसँगै कृष्णपुरको वाणी र शुक्लाफाँटा नगरपालिकाको जोनापुरमा समेत होमस्टे सञ्चालनमा छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका सचिव राहुल भट्टले जिल्लामा आउने पर्यटक लागि होमस्टेहरू सहज र उपयोगी भएको बताउनुभयो ।
‘पर्यटकमैत्री प्याकेजहरू सञ्चालन गरेर जिल्लाका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा निजी क्षेत्रले पनि प्रयास गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘यहाँका पर्यटकीयस्थलको प्रचारप्रसारमा उद्योग वाणिज्य सङ्घ सधैँ अग्रसर रहँदै आएको छ ।’ उहाँले होमस्टे वृद्धि तथा सञ्चालनमा निजी क्षेत्रको सहकार्य पनि जरुरी रहेको बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस