चितवन/ नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापारिक महोत्सवमा यतिबेला नवलपुरको कावासोतीका रेश्मराज पोखरेललाई तात्तातो कुरौनी बेच्न भ्याइनभ्याइ छ । उहाँ मात्र होइन, उहाँकी श्रीमती र केही कामदार पनि उत्तिकै व्यस्त छन् ।
पोखरेलले महोत्सवको एक स्टलमार्फत कुरौनी, खीर, आइसक्रिम, मोही, पनिर र च्याउको पकौडाको स्वाद महोत्सव अवलोकन गर्न आएका हजारौँ दर्शक तथा ग्राहकलाई खाइसक्नुभएको छ ।
नवलपुरको कावासोती निवासी पोखरेलले मेला-महोत्सवमा कुरौनीलगायतका परिकार बिक्री गर्न थालेको १८ वर्ष भएको बताउनुभयो । उहाँका अनुसार सुरुमा आइसक्रिम मात्र बिक्री गर्ने उद्देश्यले व्यवसाय सुरु गरिएको थियो । तर, जाडोयाममा आइसक्रिमको माग घट्ने र कुरौनीको माग बढ्ने देखिएपछि उहाँले कुरौनीलाई नै मुख्य व्यवसायका रूपमा अघि बढाउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘मेला र महोत्सवमा कुरौनीको बिक्री बढी हुन्छ, घरको पसलमा त्यति हुँदैन ।’ सुरुवाती समयमा उहाँले हातले घोटेर कुरौनी बनाउनुहुन्थ्यो भने हाल मेसिन प्रयोग गर्न थाल्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘मेसिन आएपछि धेरै सजिलो भएको छ । आफैं घुम्ने मेसिनले दूध घोट्छ । तर, त्यसको प्रयोगमा सीप र सावधानी आवश्यक हुन्छ ।’ कुरौनीमा चिनी अत्यन्तै थोरै मात्र प्रयोग गरिने उहाँको भनाइ छ ।
उहाँका अनुसार दूध मात्र हुँदा स्वाद अलि नुनिलो हुने भएकाले थोरै चिनी हालिन्छ । उहाँले स्पष्ट पार्नुभयो, ‘हामीले बिस्कुट, पाउरोटी वा अन्य कुनै वस्तु मिसाउने गरेका छैनौँ ।’ पोखरेलका अनुसार कुरौनीका मुख्य ग्राहक उमेर पुगेका व्यक्ति हुन् ।
दूधको आपूर्ति उहाँले भरतपुरस्थित अन्नपूर्ण डेरीसँग सम्झौता गरेर गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, ‘एकै स्थानबाट दूध ल्याउँदा गुणस्तरमा एकरूपता रहन्छ । हाल म महोत्सवका लागि मात्र दैनिक करिब एक सय लिटर दूध ल्याउँछु, आवश्यकताअनुसार थप पनि गर्छु ।’
पोखरेलका अनुसार कुरौनी पुरानो परिकार हो । जुन परम्परागत रूपमा विवाहपछि कोसेली वा पहिलो दसैंमा टीका थाप्न लैजाने मिष्ठान्नका रूपमा प्रचलित रहँदै आएको छ । उहाँले विवाह, चाडपर्व तथा कोसेलीका लागि अहिले पनि कुरौनीको अर्डर आउने बताउनुभयो ।
उहाँले स्मरण गर्नुभयो, ‘जाडो यामको महोत्सवमा आइसक्रिम बिक्री गर्दा चितवन टाँडीका एक व्यापारी (गौतम दाई)ले कुरौनी बेचिरहेको देखेँ । त्यसपछि मैले पनि सिकेर सुरु गरेँ । जाडोमा आइसक्रिमभन्दा कुरौनीको माग धेरै थियो ।’
हाल उहाँले दैनिक करिब ५० किलो कुरौनी बिक्री गर्दै आउनुभएको छ । एक किलो कुरौनीको खुद्रा मूल्य एक हजार रुपैयाँ रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आठ लिटर दूधबाट एकदेखि डेढ किलोसम्म कुरौनी तयार हुने र भैंसीको बाक्लो दूध प्रयोग गर्दा दुई किलोसम्म पनि बस्ने बताउनुभयो ।
पोखरेलले भन्नुभयो, ‘हालका पुस्ताले कुरौनी नचिनेका हुन् । कतिपयलाई त दूध कहाँबाट आउँछ भन्ने पनि थाहा छैन । कुरौनी पौष्टिक र शुद्ध परिकार भएकाले यसको प्रवर्द्धन गर्न आवश्यक छ ।’ उहाँका अनुसार यो परिकारलाई आधुनिक प्याकेजिङ र ब्रान्डिङ गरेर बजारमा ल्याउन सके युवापुस्तामाझ पनि लोकप्रिय बनाउन सकिनेछ ।
कुरौनी बिक्रीमै आत्मनिर्भर बनेका पोखरेलले यही व्यवसायबाट परिवारको जीविका सञ्चालन गर्दै केही सम्पत्तिसमेत जोड्नुभएको छ । उहाँका अनुसार यस पेशाबाट वार्षिक करिब आठदेखि दश लाख रुपैयाँसम्म बचत गर्न सकिन्छ । उहाँले भन्नुभयो, ‘यो धेरै आम्दानी हुने पेशा होइन । तर, मन लगाएर परिश्रम गरे सजिलो हुन्छ, जाँगर र सीप चाहिन्छ ।’
उहाँका अनुसार नेपालमै केही गर्न चाहने युवाले पनि उपयुक्त स्थान छनोट गरी प्राविधिक सीपको प्रयोगबाट यो पेशा अँगाल्न सक्छन् । उहाँले भन्नुभयो, ‘मेला-महोत्सव र बजार क्षेत्र यो व्यवसायका लागि उपयुक्त स्थान हुन् । तर ग्राहकलाई सन्तुष्ट पार्ने खालको स्वाद दिन सक्नुपर्छ ।’
–रासस
प्रतिक्रिया दिनुहोस