११ मंसिर २०८२ बिहिबार | 27 Nov 2025 Thu

हुम्लामा खुल्यो सुविधासम्पन्न आँखा उपचार केन्द्र



  • आफ्नै खबर
  • १० मंसिर २०८२ बुधबार (१४ घण्टा अघि)
  • पाठक संख्या ११३
  • हुम्ला/  अब हुम्लावासीले गुणस्तरीय आँखा उपचार सेवा सिमकोटबाटै प्राप्त गर्ने भएका छन् । यसका लागि यहाँ आँखा उपचार केन्द्रको नयाँ भवन तयार भएको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हुम्ला जिल्ला आँखा उपचार केन्द्रको नवनिर्मित भवन करिब ९५ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण सम्पन्न भएको हो । 

    भवन निर्माणका लागि आइकेयर फाउन्डेसनले ६४ लाख ६९ हजार रुपैयाँ, कर्णाली प्रदेश सरकारको सशर्त अनुदानमार्फत सिमकोट गाउँपालिकाले ३० लाख रुपैयाँ र नेत्रज्योति सङ्घ चितवन शाखाले एक लाख रुपैयाँ सहयोग गरेका थिए ।

    नयाँ भवनको तल्लो तलामा सेवा कक्ष, शल्यकक्ष, परामर्श कक्ष, प्रतीक्षा कक्ष तथा अत्याधुनिक उपकरण स्थापना गरिएको छ । माथिल्लो तलामा स्टाफका लागि आवश्यक कोठा रहेको उपचार केन्द्रले जनाएको छ । अब मोतियाबिन्दु शल्यक्रिया, दृष्टि परीक्षण, बाल आँखासम्बन्धी सेवा, आँखा सङ्क्रमण उपचारलगायतका सेवा अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।

    उपचार केन्द्र हुम्लाका प्रमुख बुम बोहराले हरेक वर्ष विभिन्न सहयोगी संस्थाको समन्वयमा सञ्चालन हुँदै आएको निःशुल्क आँखा शिविर तथा शल्यक्रिया अब आधुनिक भवनले झनै सुगम बनाउने भएको बताउनुभयो । 

    नेत्रज्योति सङ्घ कर्णाली प्रदेशका सभापति तथा केन्द्रीय उपाध्यक्ष तिलकबहादुर मल्लले सामान्य अवस्थाबाट सुरु भएको आँखा उपचार सेवा आज आधुनिक संरचना र उपकरणसहितको सेवामा रूपान्तरण हुनु हुम्लावासीको भरोसा र संस्थाको निरन्तर प्रतिबद्धताको परिणाम भएको बताउनुभयो ।

    सङ्घका केन्द्रीय महासचिव भरतबहादुर चन्दले कर्णालीका दुर्गम बस्तीमा मोबाइल एप्समार्फत आँखाको प्रारम्भिक परीक्षण सेवा विस्तार गरिनेसमेत जानकारी दिनुभयो । 

    आइकेयर फाउन्डेसन नेपालका केन्द्रीय निर्देशक तथा कार्यक्रम प्रवर्द्धक अनिल गोर्खालीले आधुनिक भवन सञ्चालनमा आएपछि हुम्लालीहरूले आधारभूत आँखा उपचारमा सहज पहुँच प्राप्त गर्ने बताउनुभयो ।

    सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले अब गुणस्तरीय आँखा उपचारका लागि बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्दै गाउँपालिकाबाट आवश्यक सहयोग निरन्तर रहने बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, हिमालय आँखा अस्पतालका प्राध्यापक डा. ज्ञानबहादुर कार्की र राजनीतिक दल तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटी हुम्लाका सभापति गणेश महत, नेपाल पत्रकार महासङ्घ हुम्लाका उपसभापति छपाल लामालगायतले नयाँ भवन सञ्चालनमा आएपछि आँखा उपचारका लागि अन्य जिल्लातिर धाउनुपर्ने समस्या अन्त्य हुने धारणा राख्नु भएको थियो ।

    नेत्रज्योति सङ्घ हुम्लाका सभापति नरबहादुर रोकायाले लामो प्रयास, विभिन्न निकायको सहकार्य तथा स्थानीयको साथले भवन निर्माण सम्पन्न भएको उल्लेख गर्दै बाँकी आवश्यक उपकरण र पूर्वाधारका लागि अझै सहयोग अपेक्षित रहेको बताउनुभयो ।

    –रासस