आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

कला, संस्कृति जोगाउन यःमरी महोत्सव


  • आफ्नै खबर
  • २०८२ मंसिर १४, आईतबार मा प्रकाशित ३ महिना अघि
  • १५ पाठक संख्या
  • पाल्पा/  तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एकदिने महोत्सव आयोजना गरेको हो ।

    पछिल्लो समय स्थानीय परिकार, वेशभूषा कला, संस्कृति, परम्परा, संस्कार हराउँदै गएको अवस्थामा पहिचान जोगाउँदै इतिहासबारे युवापुस्तामा जानकारी गराउन महोत्सव गरिएको क्लबले जनाएको छ ।

    नेवारी परम्पराअनुसार मङ्सिर पूर्णिमाका दिन नयाँ धान भित्र्याएपछि घरभित्र धानको भकारी बनाउने, धानको भकारीलाई विधिवत रूपमा गशेण, शिवलगायत भगवान्को स्वरुप बनाएर पूजाआजा गर्ने र नयाँ धानको यःमरी बनाएर खाने र खुवाउने चलन रहेकाले नेवारी कला, संस्कृति बचाउन महोत्सवको आयोजना गरिएको क्लबका पूर्वअध्यक्ष बेशान्तर शाक्यले बताउनुभयो ।

    यःमरी नेवारी समुदायले मात्र बनाउने र बढी मात्रा खाने प्रचलन छ । ‘यः’ भनेको नेवारी भाषामा मनपर्ने मरी भनेको रोटी अर्थात् मनपर्ने रोटीका रूपमा नेवारी समुदायमा लिने गरिन्छ । यःमरी चाकु, गुँड, खुवा र तिललाई चामलको पीठोभित्र राखेर पकाइन्छ र तातो खाने गरिन्छ । महोत्सवमा २५ कक्ष रहेका थिए । जहाँ दर्शकले स्वादअनुसारका विभिन्न परिकारको उपभोग गरेका थिए ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु