आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

सयपत्री फूल रोपेरै वार्षिक सात लाख बचत


  • आफ्नै खबर
  • २०८२ मंसिर १६, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • १४ पाठक संख्या
  • महोत्तरी/  मनरा शिस्वा नगरपालिका-३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक सात लाख रुपैयाँ बचत गरिरहनुभएको छ । करिब २० कट्ठा क्षेत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उहाँले वार्षिक सात लाख रुपैयाँ बचत गर्दै आउनुभएको हो ।

    अहिले लालबाबुको दैनिकी बिहान ५ः०० बजेदेखि बेलुकाका ५ः०० बजेसम्म फूलखेतीमा बित्ने गरेको छ । गाउँको दुई स्थानमा १०/१० कट्ठा क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुभएका लालबाबुले दिनभरि फूलको बिरुवा हेरचाह, सिँचाइ, मलखाद र फूल टिप्ने कार्यमा बिताउनुहुन्छ । 

    फूलखेतीमा उहाँलाई छोराद्वय विकास र आकाशले पनि सघाउने गर्नुभएको छ । भारतको मुजफ्फरपुरबाट सयपत्री फूलको बिरुवा प्रतिवटा भारु दुईमा ल्याएर रोप्ने गरेको लालबाबुले बताउनुभयो ।

    उहाँका अनुसार एउटा बिरुवा हुर्कन २० देखि ४० दिन लाग्दछ । उहाँले भन्नुभयो, ‘एउटा बिरुवा सप्रिएपछि तीन-चार महिनासम्म फूल दिने गर्दछ । दश कट्ठामा लगाइएको एक हजार दुई सय बिरुवाले एकैपटक फूल दिँदा एक दिनमा ५० किलोसम्म हुन्छ ।’

    उहाँले दुई स्थानमा फरकफरक समयमा फूल्ने सयपत्री लगाउनुभएको छ । एक स्थानमा उत्पादित फूल सकिन लाग्दा अर्को स्थानमा फूल्न थाल्ने भएकाले वर्षभरि बिक्री गर्न सक्ने लालबाबुले बताउनुभयो । सयपत्री फूलको माग वर्षभरि हुने भएकाले सधैँ आपूर्ति गर्न सफल भएको उहाँको भनाइ छ । 

    लालबाबुका छोरा विकासले भन्नुभयो, ‘एउटा सयपत्री फूल उनेको मालाको ५० देखि ७० रुपैयाँ पर्छ । घरमा आएका व्यापारीलाई ४० रुपैयाँमा बिक्री गर्छौँ । यसबाट दैनिक पाँच हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’

    थोकमा प्रतिकिलो चारदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री गर्दा दैनिक दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी हुने उहाँले जानकारी दिनुभयो ।

    लालबाबुले घरमा ‘जयमा फूल भण्डार’ नाममा पसल सञ्चालन गर्नुभएको छ । वर्षभरिको घरखर्च, छोराहरूको पढाइ र अन्य खर्च कटाएर सात लाख रुपैयाँसम्म बचत हुने गरेको उहाँले जानकारी दिनुभयो ।

    –रासस
      

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु