आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

पोखराको अर्को परिचय, ११० वर्ष पुरानो भुत्तेको जेरी पसल


  • आफ्नै खबर
  • २०८२ मंसिर १७, बुधबार मा प्रकाशित २ महिना अघि
  • १५ पाठक संख्या
  • कास्की/  पोखराको भीमसेन टोलमा एक पुरानो घर छ, सामान्य मर्मत गरिएको तर घरभित्र ११० वर्षको इतिहास छ । बिहानैदेखि यहाँ मानिसको भीड लाग्छ । कतिपयलाई थाहा नहुन सक्छ, किन भीड ?

    बाहिर न त ठूलो साइनबोर्ड छ, न कुनै ब्यानर । तर भित्र छ पोखराको सबैभन्दा पुरानो र प्रसिद्ध ‘भुत्तेको जेरी पसल’ । तातो तेलको गन्ध, चिनीको मीठाससँगै त्यहाँबाट निस्कने धुँवा समेत विशेष लाग्छ । एउटा विशेष स्वादको लागि मानिसहरू घण्टौँ कुर्न तयार हुन्छन् । स्वादिलो जेरीसँग मुख मिठो बनाउन आतुरहरुमा निकै शालीनता र धैर्यता देखिन्छ ।  

    भुत्ते जेरीको कथा सुरु हुन्छ सिद्धिलाल चुल्याजुबाट । उहाँ १९७० सालमा रोजगारको सिलसिलामा म्यानमार (बर्मा) पुग्नुभएको थियो । सिद्धिलालले त्यहाँ सिकेको पाककला लिएर नेपाल फर्केपछि १९७२ सालमा पोखराको पुरानो भीमसेन टोलमा भुत्तेको मिठाई पसल सञ्चालन गर्नुभयो ।

    व्यवसाय यति लोकप्रिय भयो कि सिद्धिलाललाई ‘भुत्ते साहु’ भनेर चिनिन थालियो । त्यही नाम समयसँगै रूपान्तरित हुँदै आजको ‘भुत्तेको जेरी पसल’ बन्न पुग्यो । 

    हजुरबुबादेखि छोरासम्म अनि अहिले नातिसम्म यो व्यवसाय घरकै हातले चल्दै आएको छ ।

    सिद्धिलालको निधनपछि आमा मिश्रीमायाले पनि छोराहरुको साथमा व्यवसाय चलाउनुभयो । आमाको पनि निधनपछि कान्छा छोरा राजकुमार चुल्याजुले पुर्ख्यौली थलोमा व्यवसाय सम्हाल्नुभयो । अहिले उहाँको श्रीमती र छोरा एलिस पूर्ण रूपमा सोही व्यवसायमा संलग्न हुनुहुन्छ । तीन पुस्तासम्म जोडिएको यो व्यवसाय आज पोखराको पहिचान र ‘ब्राण्ड’ बनेको छ । 

    व्यवसायमा चुल्याजु परिवारको आफ्नै समय तालिका छ । बिहान ८ बजेदेखि १२ बजे र बेलुका ४ः३० देखि साँझ ६ः३० बजेसम्म पसल खुला हुन्छ । अधिकांश नेपाली युवाहरू दीर्घकालीन काममा नटिक्ने र  विदेश जान नै हतारिने हुँदा चुल्याजु परिवारले अरुमा निर्भर नभई परिवारको जनशक्तिलाई उपयोग गरेर व्यवसाय चलाइरहनुभएको छ । 

    ‘यो त खानेकुराको पसल होनी । एकपटक खाएपछि अर्को दिन आफन्त साथीभाइलाई लिएर आउनुहुन्छ । यो खोज्दै-खोज्दै खानु पर्ने जेरी हो । त्यसैले यसको नाम ‘हन्टिङ जेरी’ हो’, राजकुमारले हास्ँदै साइनबोर्ड नराख्नुको कारण सुनाउनुभयो, ‘माग बढ्ने बेला त भ्याइनभ्याइ हुन्छ । तर स्वाद, आकार र परम्परामा कहिल्यै सम्झौता गरेका छैनौँ र गर्दैनौँ पनि ।’ 

    २०१७ सालमा राजा महेन्द्र पोखरा भ्रमणमा आउँदा सिद्धिलालले रोटीको निकै आकर्षक द्वार बनाउनुभएको थियो रे । त्यो द्वार हेरेर राजा अत्यन्त खुसी भई रत्न मन्दिरमा बोलाएर बक्सिस दिएको विषय आज पनि चुल्याजु परिवारका लागि गर्वको इतिहास बनेको छ ।

    पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विन्ध्यवासिनी पैदलयात्राको क्रममा यहाँको जेरी खानुभएको थियो । त्यो पलसमेत उहाँहरूले निकै स्मरण गर्नुहुन्छ । चर्चित सेलिब्रेटी, पत्रकारहरु पनि सोध्दैखोज्दै आउने गरेको अनुभव राजकुमारले सुनाउनुभयो । 

    दसैँ, तिहारमा थेगीनसक्नुको भीड हुन्छ । विदेशबाट घर आएकाहरूका लागि अझ विशेष स्थान बनेको छ यो ठाउँ । भुत्तेको जेरी खाएका मात्र होइन, नाम सुनेका पनि एकपटक ‘भुत्तेको जेरी’ खोज्दै पोखराको पुरानो भीमसेन बजारमा आइपुग्छन् ।

    राजकुमार भन्नुहुन्छ, ‘देश विदेशबाट भुत्तेको जेरी कहाँ छ ? भनेर खोज्दै आउँदा निकै खुशी लाग्छ ।’  

    उहाँको व्यवसायको बयान गर्न छुटाउनुहुन्न, ‘पहिले जेरी दाउरामा पोलिन्थ्यो, शुद्ध घिउमा हुन्थ्यो, महमा भिजाइन्थ्यो तर समयसँगै अब घिउ, मह नै साह्रै महँगो हुन थाल्यो, चिनी र तेल प्रयोग हुन्छ । तर स्वाद गुम्न नदिउँ भनेर हामी दिनरात मेहनत गर्छौँ । रङ प्रयोग गर्दैनौँ । ठूलो, आकर्षक बुट्टा भएको जेरी बनाउँछौँ, ग्राहकले मन पराउनु भएको छ ।’

    यहाँ जेरीसँगै लाखामरी, खजुर, लालमोहन, फिनी, अनरसासमेत तयार हुन्छन् । नेवारी समुदायका पाठपूजा, वार्षिक पूजा हरेकमा यहाँका परिकारको माग निकै बढ्ने गरेको राजकुमारकी श्रीमती दयालक्ष्मी चुल्याजु बताउनुहुन्छ । सासु-ससुराको व्यवसायलाई निरन्तरता दिएर ग्राहकको मन जित्न पाउँदा निकै आनन्द लाग्ने उहाँको भनाइ छ ।

    ‘चाडपर्व नेवारी समुदायको पर्वहरूमा माग बढी हुन्छ’, राजकुमारका छोरा एलिस गर्वका साथ बताउनुहुन्छ, ‘हजुरबुबाले सन् १९१६ मा सुरु गरेको यो व्यवसायले निरन्तरता दिन पाउनु नै ठूलो अवसर हो । व्यवसायलाई विस्तार गर्दै अझ व्यवस्थित गर्ने सोच राखेको छु ।’ 

    झण्डै ४४ वर्षपछि भुत्तेको जेरीको स्वाद खोज्दै आउनुभएका भाइरोलोजिष्ट डा. विष्णु उपाध्याय छोरा-नातिले निरन्तरता दिएको देख्दा निकै खुसी लागेको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, ‘म २०३८/३९ सालतिर पोखराको रामघाटस्थित चिकित्सा शास्त्र अध्ययन संस्थामा थिएँ । त्यतिबेला यहाँको जेरी खुब खान आउथेँ । आज ४४ वर्षपछि पुनः पोखरा आउँदा मलाई त्यो स्वादको याद आयो । यहाँ आएर जेरी खान पाउँदा निकै खुशी लाग्यो ।’

    भुत्तेको जेरी केबल मिठाई होइन । यो परम्पराको निरन्तरता, परिवारको श्रम र पोखराको पहिचान भएको बताउनुहुन्छ पोखराका अग्रज पत्रकार नारायण कार्की । उहाँ थप्नुहुन्छ, ‘घण्टौँ पर्खेर खाने धैर्यता यसको स्वाद नै हो । तीन पुस्ता जोडिएको भुत्तेको जेरी पसल अहिले ‘ब्राण्ड’ बनेको छ । यो बाजेको पेसाप्रतिको नाति पुस्ताले देखाएको चासो र निरन्तरता निकै सकारात्मक र प्रेरणादायी पक्ष हो ।’

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु