१  २०८२ बिहिबार | 15 Jan 2026 Thu

भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन सरकार सकृय



  • आफ्नै खबर
  •     (२ हप्ता अघि)
  • पाठक संख्या १८६
  • काठमाडौँ/  महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्कालै पत्र काट्ने बताउनुभएको छ । 

    भृकुटीमण्डपको आज अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ । त्यो समस्या आज आफैँले थाहा पायौँ । बाँकी बक्यौता तिर्नका लागि आजै पत्र काट्दैछौँ ।’

    मन्त्री श्रेष्ठले भाडा सम्झौता नवीकरणका क्रममा समयानुकूल भाडादर तय गरिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारी दरअनुसार सस्तो भाउमा नदिइकन, केही नाफा हुनेगरि भाडामा लगाउने हाम्रो सोच छ ।’

    बक्यौता बाँकी भएकाको सूची तयार भइसकेको उहाँको भनाइ छ । व्यापारिक प्रयोजनका लागि भाडा लिइएकाबाट बक्यौता उठाउन सुरु गरिनेछ । 

    भृकुटीमण्डपका संरचनाको भाडासम्बन्धी विषयमा यसअघि समाजकल्याण परिषद्मा पनि छलफल भएको जानकारी दिँदै मन्त्री श्रेष्ठले आज विस्तृतमा अवलोकन गरिएको बताउनुभयो ।

    –रासस