काठमाडौँ/ सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १८ औँ स्थापना दिवस २०८२ को अवसरमा वितरण गर्ने विभिन्न पुरस्कार तथा अभिनन्दनको घोषणा गरेको छ । प्रतिष्ठानले आगामी माघ १७ गते काठमाडौँमा आयोजना गर्ने समारोहमा बिच उक्त पुरस्कारहरू वितरण गर्ने जनाएको छ ।
उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा अभि सुबेदीलाई अभिनन्दन गर्ने घोषणा गरिएको छ । नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने प्राध्यापक डाक्टर सुबेदी समालोचक, भाषाविद्, नाटककार, अनुवादक कवि तथा सम्पादक हुनुहुन्छ।
अन्य पुरस्कारहरूमा २५ हजार रुपैयाँ सहितको गुरुप्रसाद मैनाली सुरभि आख्यान पुरस्कार खगेन्द्र सङ्ग्रौलालाई प्रदान गरिने भएको छ । त्यस्तै, २५ हजार रुपैयाँको सुरभि–बाजुराम आख्यान साधना पुरस्कारका लागि कथाकार एवम् बाल साहित्यकार सुशीला प्रधानाङ्ग छनौट हुनुभएको छ ।
५१ हजार रुपैयाँ राशिको सुरभि-विजय वाङ्मय पुरस्कार साहित्यकार एवम् समालोचक ठाकुर शर्मा भण्डारीलाई तथा २५ हजार रुपैयाँ राशिको सुरभि-रमाबद्री निबन्ध पुरस्कार निबन्धकार एवम् सम्पादक रामप्रसाद पन्तलाई प्रदान गरिने भएको छ ।
पुरस्कार विजेता चयनका लागि संयोजक युवराज मैनाली सहित अच्युत घिमिरे र आलोक चालिसे रहेको तीन सदस्यीय पुरस्कार चयन समिति गठन भएको थियो ।
साथै, बैठकले आगामी वर्षदेखि प्रदान गर्ने गरी मोतीराम भट्ट, रामकृष्ण शर्मा, सूर्यविक्रम ज्ञवाली, यदुनाथ खनाल, हृदयचन्द्रसिंह सिंह प्रधान, कृष्णचन्द्र सिंह प्रधान जस्ता समालोचकहरूको नाममा सुरभि समालोचना पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।
२५ हजार रुपैयाँ राशिको उक्त पुरस्कारका लागि समाजसेवी वसन्त रिजाल र प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलबाट २ लाख २५ हजार रुपैयाँको अक्षयकोष समेत स्थापना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस