आज: २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026

९ वर्षपछि औद्योगिक तथा व्यापार महोत्सव


  • आफ्नै खबर
  • २०८२ पौष २२, मंगलबार मा प्रकाशित २ महिना अघि
  • १९ पाठक संख्या
  • झापा/  मुलुककै पुरानो औद्योगिक नगर भद्रपुरमा नौ वर्षपछि औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना गरिने भएको छ । झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सव आगामी माघ ७ देखि २१ गतेसम्म मेची रङ्गशालामा हुनेछ ।

    ‘समृद्धिको आधार, आर्थिक विकासः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ महोत्सव आयोजना हुने सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार राईले बताउनुभयो । जेनजी आन्दोलनपछि निजी क्षेत्रमा फैलिएको निराशा र त्रासलाई चिर्न महोत्सवले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

    महोत्सवमा घरेलु, कृषि, पर्यटन, अन्तर्राष्ट्रिय वस्तु तथा सेवाहरूको प्रवर्द्धनका लागि एक सयभन्दा बढी स्टल रहनेछन् । एक करोड २० लाख रुपैयाँ अनुमानित खर्च लाग्ने महोत्सवबाट कम्तीमा १० करोड रुपैयाँको कारोबार हुने र एक लाख अवलोकनकर्ता आउने लक्ष्य राखिएको अध्यक्ष राईले बताउनुभयो । 

    महोत्सव सफल बनाउन विभिन्न नौवटा उपसमिति गठन गरिएको छ । आदित्य पराजुली संयोजक रहनेगरी आर्थिक सङ्कलन तथा व्यवस्थापन समिति, खड्गबहादुर लिम्बू संयोजक रहनेगरी मञ्च व्यवस्थापन समिति, पवनकुमार श्रेष्ठको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, माधव विद्रोहीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ । 

    त्यस्तै, रोहित काफ्लेको संयोजकत्वमा उपहार तथा प्रकाशन समिति, अम्बिका पोखरेलको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवक समिति, अनिता कार्कीको संयोजकत्वमा स्वागत तथा सत्कार समिति, राजेन्द्रकुमार घिमिरेको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको उहाँले बताउनुभयो । 

    भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले महोत्सव सफल बनाउन पालिकाले अभिभावकको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु