२  २०८२ शुक्रबार | 16 Jan 2026 Fri

चट्टान आरोहण प्रशिक्षण केन्द्र बनेको ‘चुनपहरा’



  • मिला दरै
  • २  २०८२ शुक्रबार (७ घण्टा अघि)
  • पाठक संख्या ८०
  • तनहुँ/  पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरस्थित चुनपहरामा अचेल आरोहण गर्नेहरूको चहलपहल देखिन्छ ।

    हिउँद याममा यहाँ उल्लेख्य सङ्ख्यामा चट्टान आरोहण गर्न आउने गरेका छन् । हिमाल आरोहणमा जानुभन्दा अघि आरोहीले चुनपहरा चट्टान आरोहण गर्ने गरेका छन् । त्यसैले पछिल्लो समय चुनपहरा चट्टान प्रशिक्षण केन्द्र बनेको छ । 

    पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाबाट तालिम लिइरहेका प्रशिक्षार्थीलाई चट्टान आरोहण प्रशिक्षण दिने स्थल बनेको छ चुनपहरा । पथ प्रदर्शक मात्रै नभई नेपाल प्रहरीका जोखिम उद्धार टोली उत्पादनका लागि प्रशिक्षण लिने स्थल बनेको छ ।

    नेपाल पर्वतीय पदयात्राका निम्ति उपयुक्त स्थान मानिन्छ । यहाँ आउने विदेशी पर्यटकलाई आकर्षित गर्न तथा दक्ष पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने लक्ष्य रहेको सिद्ध गुफा संरक्षण समितिका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

    ‘यहाँ विदेशी तथा स्वदेशी साहसिक खेलाडी समय समयमा चट्टान आरोहणका लागि आउने गरेका छन् । कम्पनीले दक्ष तथा अनुभवी पथ प्रदर्शक उत्पादन गरिरहेका छन् भने नेपाल प्रहरीको जोखिम उद्धारका लागि तालिम केन्द्र बनेको छ’, श्रेष्ठले भन्नुभयो, ‘विगतमा सडक विस्तारको क्रममा पहरा कटान गर्ने योजना थियो । पछि हामीले साहसिक खेलको प्रशिक्षण केन्द्र बनायौँ ।’

    साहसिक खेलका रुपमा रहेको रक क्लाइम्बिङको विकास गर्दै यसलाई आयआर्जनसँग जोड्न आवश्यक रहेको उहाँको भनाइ छ । 

    यहाँ आउने विदेशी पर्यटकलाई राष्ट्रियस्तरको प्रमाण प्राप्त दक्ष पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने लक्ष्यका साथ पर्वतीय पथ प्रदर्शक प्रशिक्षण भइरहेको नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घले जनाएको छ ।

    यो एक हप्ताका लागि सञ्चालन हुनेछ । नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घका महासचिव पासाङ टेण्डी शेर्पाले १७औँ चरणको तालिम यहाँ सञ्चालन भइरहेको जानकारी दिनुभयो । 

    ‘यो साहसिक खेल नेपालको मात्रै नभएर विश्वमा नै प्रसिद्ध छ । यो प्रशिक्षण र सिकाइ फिजियोथेरापीसँग पनि सम्बन्धित छ’, उहाँले भन्नुभयो, ‘चट्टानको प्राकृतिक जडान सुरक्षित र सजिलो छ ।’ 

    महासचिव शेर्पाले नेपालमा चट्टान आरोहण विकासका क्रममा रहेको र चट्टान आरोहणले मानसिक रुपमा पनि तन्दुरुस्त बनाउन सहयोग गर्नेे बताउनुभयो ।

    यस स्थानको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उहाँको भनाइ छ । नेपाल साहसिक पदयात्रा गर्ने क्षेत्रको रुपमा मानिएको छ भने पर्वतारोहणमा सहज बनाउन प्रशिक्षकको मागअनुसार उपलब्ध गराउन पथ प्रदर्शक उत्पादन गरिरहेको सङ्घले जनाएको छ । 

    सङ्घका सिनियर प्रशिक्षक लाक्पा राङ्कु शेर्पाले प्रशिक्षणका लागि सीमित क्षेत्र भएकाले सीमित प्रशिक्षार्थीलाई मात्रै प्रशिक्षण दिइरहेको बताउनुभयो । सङ्घले यस पटक एक महिला र ४३ पुरुष गरी ४४ जनालाई प्रशिक्षण दिइरहेको महासचिव शेर्पाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘शरीरको सहनशीलतालाई विकास गर्न यहाँको हावापानी उपयुक्त रहेकाले प्रशिक्षण गराउन ल्याउने गरेका छौँ । यसपछि आइस क्लाइम्बिङ गराएर मात्रै तालिम प्राप्त पथ प्रदर्शकको प्रमाणपत्र दिने गरिन्छ ।’ 

    ‘पथ प्रदर्शकले मौसमको आभास गर्नुपर्ने हुन्छ । त्यसका लागि सिद्धगुफाको चट्टान उपयुक्त छ’, प्रशिक्षक शेर्पाले भन्नुभयो, ‘कहिले चिसो त कहिले तातो मौसमको सामना गर्न सक्ने गरी तालिम दिन्छौँ यहाँको मौसमका साथै ठाउँ पनि उपयुक्त छ ।’

    नेपालका हिमाल आरोहण गर्न आउने विदेशीलाई सहज र सुरक्षित रुपमा हिमाल आरोहण गराउने गरी कम्पनीले दक्ष पथ प्रदर्शक उत्पादन गरिरहेको छ । माउन्टेन गाइडका लागि चट्टान आरोहण प्रशिक्षण भएको र यसका साथै आइस क्लाइम्बिङ (पहिलो चरण) को तालिम प्रदान गरिसकिएको छ । 

    चट्टान, ग्लेसियर, पिक क्लाइम्बिङ गर्न दक्ष भएपछि मात्रै पूर्ण रुपमा अभ्यास सकिएपछि दक्ष पथ प्रदर्शकको प्रमाणपत्र प्रदान गरी काम गर्नसक्ने हुन्छ । प्रशिक्षक लाक्मी शेर्पा चट्टान आरोहणको प्रशिक्षणतर्फ महिला पनि आकर्षित भइरहेका बताउनुभयो ।

    जोखिम तथा साहसिक खेलमा महिलाको आकर्षण बढ्दो छ ।  देशैभर दक्ष तथा अनुभवी महिला पथ प्रदर्शक सङ्ख्यात्मक रुपमा कम रहेकाले म पनि गर्न सक्छु भनेर यस क्षेत्रमा लागिरहेका प्रशिक्षक शेर्पाले बताउनुभयो । साहसिक काम गर्दा अन्य महिलालाई पनि प्रोत्साहन गर्न जरुरी रहेको उहाँको भनाइ छ । 

    सिद्धगुफाको संरक्षण गर्नुका साथै आरोहण गर्न चट्टान पनि सुरक्षित तवरबाट जोडिएका छन् । प्रचारप्रसार तथा प्रवर्द्धनमा भने उल्लेख्य काम हुन नसकेको स्थानीयको गुनासो छ । 

    २०६४ सालमा नेपालका अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक र स्थानीयवासी मिलेर उक्त क्षेत्रको सुरुआती अन्वेषण गरेपछि क्रमबद्ध रुपमा यससँग सम्बन्धित सङ्घसंस्था तथा निकायले चट्टान आरोहणको गतिविधि बढाउँदै लगेका छन् ।  

    पथ प्रदर्शक मात्रै नभएर हिमाल आरोहणका लागि पनि पहिलो खुड्किलाको रुपमा प्रशिक्षण लिन यहाँ आउने गर्दछन् । केही दिनको चट्टान आरोहणपश्चात् हिमाल आरोहणमा जाने गरेका छन् ।

    –रासस