१४  २०८२ बुधबार | 28 Jan 2026 Wed

चुनावमा पैसा खर्च गर्नेले पछि उठाउन खोज्छ नै, भ्रष्टाचारको जन्म त्यहीँबाट हुन्छ



  • रमेश अर्याल
  • १३  २०८२ मंगलबार (१ दिन अघि)
  • पाठक संख्या ३७०
  • आउँदो फागुन २१ गते हुन गइरहेको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट २२ जना उमेदवारले उमेदवारी दिएका छन् । त्यसमा कसले जित्छ र कसले हार्छ भन्ने विषयमा चोक चोक र चिया पसल तथा घरघरमा छलफल र पूर्वानुमान हुने गरेका छन् । 

    उमेदवारहरू पनि प्रचार प्रसारमा लागिसकेका छन् र आफ्नो विजयका लागि यथाशक्य प्रयास गरिरहेका छन् । यसै क्रममा आफ्नै खबरको कार्यालयमा आइपुग्नुभएका नेपाली काँग्रेसको तर्फबाट उमेदवार हुनुभएका रमेश अर्यालसँग गरिएको केहि अन्तरङ्ग कुराकानीको सम्पादित अंश ः

    देशको पनि र पार्टीको पनि फेरिएको परिस्थितिमा उमेदवार हुनुभएको छ । यो क्षेत्रमा के के गर्नुभयो ? 
    म एकपटक जनप्रतिनिधि भएर काम गरिसकेको मान्छे हुँ । मेरा प्रतिस्पर्धी उमेदवार सबै जना राम्रा हुनुहुन्छ । सबै सक्षम पनि हुनुहोला । किनकी कुनै उमेदवारलाई गाली गरेर र कसैको हुर्मत लिएर सभ्य राजनीति हुँदैन भन्नेमा म सचेत छु । मलाई विश्वास छ, मलाई यो क्षेत्रका चिन्ने जान्ने नागरिकले पार्टी वा सिद्धान्तको चस्मा लगाएर हेर्नुहुन्न ।

    गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का नागरिकलाई सोध्नुस्, मैले पनि आफू वडाअध्यक्ष हुँदा कसैलाई पार्टीको चस्माले हेरिन । र, ‘कुनै व्यक्ति निर्वाचित भइसकेपछि उसका लागि सबै मतदाता बराबर हुन्’ भन्ने मान्यतालाई मैले राम्ररी पालन गरेको छु । 

    हो, म पार्टीकै सदस्य हुँ । तर मैले सधैँ सबैभन्दा माथि देश र त्यसपछि नागरिकलाई राखेको छु । पार्टी बन्ने भनेकै देश र नागरिक रहे हो । त्यसैले तेस्राे बुँदा भन्दा पनि यहाँको मतदाताले माथिको दुई कुरालाई ध्यान दिनुहुन्छ भन्नेमा म विश्वस्त छु । 

    फेरिएको परिस्थितिमा नयाँ-नयाँ भन्छन् नी ?
    एउटा उदाहरण, कतै घर भत्काउँदा धुलो उड्यो भन्दैमा ‘ओहो ! सबैतिर धुलोकै साम्राज्य रहेछ’ भन्ने भाष्य निर्माण गर्नुहुन्न । यो भनेको बाइप्रोडक्ट मात्र हो । यसको अस्तित्व लामो समय रहँदैन । त्यो कुरो म सम्पूर्ण मतदातालाई बुझाउँदै आग्रह गर्न चाहन्छुकी । आफ्नो मत हल्ला र अनावश्यक र पुरा हुन नसक्ने आश्वासनको पछाडि लागेर खेर फाल्नु हुन्न । र कुरो आयो नयाँको म पनि नयाँ उमेदवारनै हुँ ।

    देश विकासको हिसाबले मतदाता निराश छन् । किन ? 
    यहाँ विकासलाई पुस्तासँग तुलना गरेर हेर्नुपर्छ जस्तो लाग्छ मलाई । त्यसमा मेरा हजुरबुबा र बुबाको पुस्ता, मेरो पुस्ता र नयाँ अर्थात अहिले जेन जी भनेर चिनिने पुस्ता । 

    पहिलो पुस्ताको कुरा गरौँ न त !  
    हजुरबुबाको र बुबाको पुस्ता । उहाँहरूले आफ्नो बाल्यकालदेखिनै क्रमवद्ध विकास हेर्दै आउनुभएको छ । कुनै पनि देशको विकास भनेको त्यहाँको श्रोत साधनमा भर पर्छ । त्यो कुरो हजुरबुबा पुस्ताले बुझ्नुभएको छ । देश विकास हुँदै नभएको होइन । त्यो हजुरबुबा र बुबा पुस्तालाई राम्रो थाहा छ ।

    तर, यसो भन्दैमा मैले विकास पर्याप्त छ भन्न खोजेको भने होइन । म नीति र विधि निर्माण गर्ने ठाउँमा जाने योजनामा यो चुनावमा आएको छु । त्यसैले, त्यहाँ गएर नीति र विधि निर्माणमा सहयोग गर्ने हो । विकास निर्माण सरकारको काम हो । तर, नेपालको संविधान अनुसार सरकार पनि संसदबाटै बन्ने भएकोले विकासमा पनि मेरो योगदान पक्कै रहन्छ । त्यसो भन्दैमा नसक्ने र नपुग्ने आश्‍वासनको म विरोधी हो । 

    हो, अहिलेको विकास पुगेको छैन । देश अझै विकासशीलको सुचीमा चढ्न सकेको छैन । त्यसैले भएको विकासमा सन्तुष्ट हुने भन्ने कुरो हैन । थप विकासका लागी आवश्यक नीति नियम बनाउने हो ।

    कुनै उमेदवारले यो गरिदिन्छु वा त्यो गरिदिन्छु भन्ने कुरो पनि आउन सक्छ । तर, सरकारले बजेट बनाउने र संसद्ले त्यसलाई अनुमोदन गर्ने हुनाले यो क्षेत्रमा आवश्यक परेको ठाउँमा र विकासका नयाँ नयाँ योजना बजेटमा पार्ने विषयमा भने भोलिका दिनमा मेरो उल्लेख्य योगदान हुनेछ भन्ने विषयमा स्पष्ट छु र यहाँहरूलाई प्रतिवद्धता जनाउन चाहन्छु । 

    अनि दोस्रो पुस्ताको कुरा गर्नु पर्दा ?
    दोस्रो पुस्ता भनेको हामी हौँ, हाम्रो पुस्ताको एउटा उदाहरण म नै हुँ । यो पुस्ता केही असन्तुष्ट छ । तर, उ उच्छृङ्खल र अश्लिल छैन । यो पुस्ताका धेरैले यो क्षेत्रमा मलाई चिन्नुपनि हुन्छ ।

    किनकी यो क्षेत्र सहरीकरण हुनुभन्दा पहिले हुर्केको मान्छे हुँ म । त्यो समयमा सबैजना सरकारी विद्यालय र कलेजमा पढ्थे । एउटा क्षेत्रको सबै विद्यार्थी एउटै शिक्षण संस्थामा अध्ययन गर्ने भएपछि चिनजान मित्रता नहुने कुरै भएन ।

    सबैले चिन्छन् त ? 
    मलाई, मेरो व्यवहारलाई र मेरो आनीबानीलाई यो निर्वाचन क्षेत्रका धेरैले चिन्नुहुन्छ भन्नेमा विश्वस्त छु । म रमेश अर्याल आफैँमा केही होइन । मलाई चिन्नुहुने मलाई माया गर्नुहुने यहाँका नागरिकका कारण म रमेश अर्याल हुँ । म गोकर्णेश्वर–६ मा वडाअध्यक्षको जिम्मेवारीमा रहँदा मेरो काम देखेर रुचाउनु भएका सेवाग्राहीका कारण म रमेश अर्याल हुँ ।

    यो गालीगलौज र अनावश्यक आश्‍वासनको भाषणमा अल्झिँदैन र सबैसँग मित्रवत व्यवहारका साथ काम गर्छ भन्नेहरूका कारण म रमेश अर्याल हुँ । बालसखाहरूको लागि म यहीँको धुलो, माटोमा उहाँहरूसँगै खेलेको रमेश अर्याल हुँ ।

    त्यो बाहेक हाल फेरिएको र सुधारिएको नेपाली काँग्रेसले मलाई विश्वास गरेर प्रतिनिधि सभा निर्वाचनमा यहाँको उमेदवारीको लागी टिकट दिएपछि भने, म यहाँको उमेदवार रमेश अर्याल हुँ । त्यसैले मेरो पुस्ताले मलाई पुर्णतः विश्वास गर्नेमा म विश्वस्त छु । 

    जेन जी पुस्ता नि ?
    आश्वासन, गाली गलौज र स्टण्टले देश बन्दैन । देश विकासको एउटा विधि हुन्छ, नियम हुन्छ र प्रकृया हुन्छ । त्यो अहिलेको जेन जी पुस्ताले पनि बुझेको छ । जेन जी भनेको एउटा पुस्ता हो ।

    त्यो पुस्ता कुनै दल, सङ्गठन वा समितिको होइन । यो पुस्ता आफैं राजनीति गर्ने भन्दा सभ्य र सुधारिएको राजनीतिको पक्षमा छ । तर, पछिल्लो समय यसलाई अपहरण गरिएको हो कि जस्तो लाग्छ । पछिल्लो समयको भाष्य हेर्दा गाली गलौज र अपशब्दले राज गरेजस्तो देखिन्छ । त्यसमा सबैले सुधार ल्याउनु आवश्यक छ । 

    हो, यो जेन जी पुस्ता ठुलो सङ्ख्यामा रोजगारी वा शिक्षा आर्जनको सिलसिलामा विदेशमा छ । यहाँबाट रोजगारीका लागि वा शिक्षाका लागि जाने देश भनेको पक्कै पनि यहाँ भन्दा विकसित हुन्छ । त्यो पुस्ताले त्यहाँ देखेको विकास नेपालमा पनि होस् भनेर अपेक्षा गर्नु कदापी नराम्रो होइन । तर, मैले अघिनै भनेँ नी, उहाँहरूले आफ्ना हजुरबुबाहरूलाई सोध्नु भयो भने थाहा हुन्छ, नेपालमा पनि विकास भइरहेको छ ।

    विकास जादुको छडीले गर्ने पक्कै होइन । त्यसको लागी स्पष्ट दृष्टिकोण, इच्छाशक्ति, श्रोतको सहि परिचालन र दक्ष जनशक्ति चाहिन्छ । दृष्टिकोण र इच्छाशक्ति हामीसँग छ । सुधारिएको वा फेरिएको नेपाली काँग्रेस सँग छ । श्रोतको सही परिचालन गर्ने ज्ञान र दक्ष जनशक्तिको रुपमा स्वदेश तथा विदेशमा शिक्षा हासिल गरिरहेको तपाईँहरूसँग छ । त्यसैले शिक्षा पुरा भएपछि स्वदेश फर्कनुस्, सँगै मिलेर काम गरौँ । यहाँ रहनुभएका जेन जीले मलाई रुचाउनुहुन्छ भन्नेमा पनि म विश्वस्त छु । 

    नेपालमा ‘गरिबले चुनाव लड्न सक्दैन, ठुलै लगानी चाहिन्छ, टिकट किन्नुपर्छ, पैसा बाँड्नुपर्छ’ भन्ने जस्ता भाष्य सामान्य भइसकेको छ । तपाईको अनुभव के हो ?
    हो चुनावमा पैसा चाहिन्छ । चुनावमा ठुलै खर्च हुन्छ भनेर ठूला ठूला अर्थशास्त्रीले समेत भन्दै आएका छन् । देशको अर्थव्यवस्थानै चलायमान हुन्छ भन्नेजस्ता तर्क समेत गर्छन । तर, कसलाई चाहिन्छ भन्ने कुरो ठुलो हो । जसमा जनसमर्थन वा जनाधार छैन उनीहरूले पैसा खर्च गरेर चुनाव जित्न खोज्ने हो । टिकट खरिद गरिएको भन्नेजस्ता कुरा पनि सुनिएकै छ ।

    तर, म पैसा खर्च गरेर चुनाव उठ्न आएको होइन । म सँग निर्वाचन आयोगले तोके जति खर्चगर्ने पनि क्षमता छैन । सुधारिएको र फेरिएको काँग्रेसले अहिले पैसा खर्च गरेको आधारमा टिकट दिएको भए मैले टिकट पाउने सम्भावना नै थिएन । अर्थात्, म सँग पैसा छैन ।

    अहिलेसम्मको भेटघाट, छलफलहरूमा आयोजक र हितचिन्तकहरूले नै चिया खुवाइरहनु भएको छ । अहिले सम्म मेरो छिमेकी र हितचिन्तक साथीभाइले स्कुटरमा लिएर मलाई मतदातासम्म पुर्याईरहेका छन् । म खर्चमा भन्दा निष्ठामा विश्वास गर्छु र मेरो निष्ठा पूर्णरुपमा यो क्षेत्र नम्बर ३ का मतदाताप्रति छ । 

    म फेरी पनि मतदाताहरूलाई आग्रह गर्न चाहन्छु, कसैले पैसा खर्च गरेर चुनाव जित्न खोज्छ भने तपाईँहरूले उसलाई हराउनु पर्नेछ । किनकी पैसा खर्च गर्नेले पछि खर्च उठाउन खोज्छ नै । भ्रष्टाचारको जन्म त्यहीँबाट हुन्छ । 

    अन्त्यमा, छोटोमा भन्नुपर्दा जितको आधार के हो ? 
    मैले माथिका कुराहरू सबै छोटोमै भनेको छु । मेरा जितका आधार सवै माथि भनिसकेको छु । आदरणीय मतदाताहरूलाई विनम्रताका साथ माथिका मेरा भनाइहरू फेरी पढिदिनुहुन आग्रह गर्दछु । कसैलाई मसँग थप छलफल आवश्यक छ भन्ने लागेमा मलाई प्रत्यक्ष भेट्न पनि आग्रह गर्न चाहन्छु ।

    एउटा थप रमाइलो प्रश्न, तपाईंको सम्पर्क नम्बर सबैसँग छ ?
    म देशकै पहिलो पार्टीको उमेदवार हुँ र यो क्षेत्रमा नेपाली काँग्रेसको सङ्गठन राम्रो छ । त्यसैले हरेक ठाउँका वडा, गाउँ, टोल कमिटीका पदाधिकारी वा सदस्यहरूमार्फत सम्पर्क गर्नुभएमा म समय मिलाएर अवश्य उपस्थित हुनेछु । 

    प्रस्तुतीः सुदीप कुमार ढुङ्गाना