१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

हामी काम गर्नका लागि सरकारमा सहभागी भएका हाैं : सभापति लामिछाने



  • आफ्नै खबर
  • १७ चैत २०८० शनिबार (८ महिना अघि)
  • पाठक संख्या ६१
  • फिक्कल- उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी बताउनु भएको छ । काम गर्न नसकेका दिन सरकारबाट आफै बाहिरिने उहाँले बताउनुभयो । 

    “रास्वपा सरकारमा नगएको भए हुन्थ्यो भन्ने कुरा पनि आम नागरिकमा छ, तर हामी काम गरेर देखाउनका लागि सरकारमा सहभागी भएका हौँ,” शनिबार इलाम चोकबजारमा इलाम–२ उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार घोषणासभालाई उहाँले भन्नुभयो, “ केही सङ्केत देखाइसकेका छौँ ।”

    रास्वपा सरकारमा सहभागी भइसेकपछि सुशासन र सेवा प्रवाहमा जनताले अपेक्षा गरेअनुरुप सुधार सुरु भइसकेको दाबी उहाँको थियो । विभिन्न समयमा भएका सबै भ्रष्टाचारका फाइलहरु क्रमशः खोलिँदै लैजाने बताउँदै उहाँले भ्रष्टाचारीहरू कसैलाई पनि उम्कन नदिने  दाबी गर्नुभयो ।

    आफ्नो पार्टीले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा समेत संसद्बाट जनताकै पक्षमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै उहाँले इलामबाट एक जना सांसद थपेर पठाइदिन जिल्लावासीलाई आग्रहसमेत गर्नुभयो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सो पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्यद्वय डा स्वर्णिम वाग्ले, डा तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, रमेश प्रसाईंलगायतले सम्बोधन गर्नुभएको थियो । 

    मिलन लिम्बू उम्मेदवार
    रास्वपाले इलाम–२ मा हुने लागेको प्रतिनिधिसभाको उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरेको छ । पार्टी सभापति लामिछानेले  शनिबार घण्टी बजाए उम्मेदवार घोषणा गर्नुभयो । उम्मेदवार घोषणापछि लामिछानेले उम्मेदवार लिम्बूलाई घण्टी हस्तान्तरण गरी शुभकामना दिनुभएको थियो ।

    पत्रकारिता छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएका लिम्बूलाई रास्वपाले पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको हो । इलाम-२ मा वैशाख १५ गते प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ । 

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?