काठमाडौं/ सहरी विकासमन्त्री धनबहादुर बुढा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच नुवाकोटको बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ । सहरी विकासमन्त्री बुढा र काठमाडौंका मेयर शाहबीच मंगलबार भएको भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजनामा काम गर्ने र आपसी सहकार्यवाट अघि बढ्ने विषयमा छलफल भएको हो ।
तत्कालका लागि स्थानीयहरूको सरोकारलाई सम्बोधन हुने गरी बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने र उनीहरूको माग सम्बोधन गर्ने विषयमा शाहसँग मन्त्रीले मिलेर अघि बढ्न प्रस्ताव गर्नुभएको थियो । मेयर शाहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै महानगरले केही वडाबाट शून्य फोहोर कार्यक्रम सुरु गर्न लागेको जानकारी दिँदै यसमा मन्त्रालयको सहयोग माग्नुभएको थियो ।
मेयर शाहले बन्चरेडाँडाको ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरी फोहोरको व्यवस्थापन गर्न महानगरले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताउनुभयो । मन्त्री बुढाले बन्चरेडाँडामा जाने फोहोरको परिमाणलाई कम गर्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेको भन्दै फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा काठमाडौं र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको उल्लेख गर्नुभयो ।
मन्त्रालयमातहत निकायबाट काठमाडौं महानगरपालिकाभित्र भइरहेका कामलाई प्रभावकारी बनाउन तथा विकास निर्माणलाई गति दिने विषयमा मन्त्री बुढाले मेयर शाहसँग सुझावसमेत माग्नुभएको थियो । ‘संघीय सरकार स्थायित्व यहाँलाई थाह नै छ, तर स्थानीय सरकारले आफ्नो पूरा कार्यकाल काम गर्न पाउने भएकाले काठमाडौंको विकासमा महानगरपालिकाले गर्न चाहेका विकास निर्माणको काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छौँ,’ मन्त्री बुढाले भन्नुभयो, ‘सुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ ।’
मेयर शाहले काठमाडौं उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला–किनारमा रहेका अव्यवस्थित बस्तीहरूलाई हटाउन आवश्यक समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभएको थियो । काठमाडौंको ट्राफिक जामलाई कम गर्न नयाँ प्रविधि ‘पोड वे’को सम्भाव्यताबारे समेत मन्त्री बुढाले चासो राख्नुभएको थियो । मेयर शाहले विकसित मुलुकहरूमा समेत पोड वे सफल भएको उदाहरण आफूले नदेखेको भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न मन्त्री बुढालाई सुझाव दिनुभएको थियो ।
मेयर शाहले काठमाडौं उपत्यकाको जाम कम गर्न बानेश्वर, लैनचौरजस्ता बढी जाम हुने क्षेत्रमा फ्लाइओभर वा अन्डरपास बनाउन सके राजधानीवासीलाई ठूलो राहत हुने बताउनुभयो । छलफलमा सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे र स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरत अर्याललगायत सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस