२४ बैशाख २०८२ बुधबार | 07 May 2025 Wed

डढेलोले बढायो काठमाडौंको वायु प्रदूषण



आइक्यू एयरले जारी गरेको नेपालमा लागेका डढेलो संकेत गरिएको नक्सा
  • आफ्नै खबर
  •     (१ बर्ष अघि)
  • पाठक संख्या १८९
  • काठमाडौं/  केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौंको वायु प्रदूषण बढेको छ । सुक्खा मौसमका कारण देशका वनजंगल तथा बस्तीहरूमा समेत डढेलो सल्किने क्रम बढेसँगै काठमाडौंको हावाको गुणस्तर खस्कँदै गएको हो । 

    हावाको गुणस्तरबारे अध्ययन गर्ने र जानकारी दिने आइक्यू एयर नामक वेबसाइटले आफ्नो नक्सामा नेपालभर सयभन्दा वढी स्थानमा आगलागी तथा डढेलो सल्किएको संकेत गरेको छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्न ३ वजे काठमाडौं सेनेगलको डकार र थाइल्यान्डको चियाङमाई सहरपछि विश्वकै बढी प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । इन्डेक्सका अनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) १६८ पुगेको छ । भक्तपुरको सुडाल काठमाडौंभन्दा बढी प्रदूषित देखिएको छ । यहाँको एक्युआई १६९ देखिएको छ । पश्चिमी वायुका कारण काठमाडौंको प्रदूषण भक्तपुर हुँदै बाहिरिँदा उक्त स्थानमा बढी प्रदूषण देखिएको हो ।

    वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टका अनुसार देशभर लागेको डढेलोको असर काठमाडौंलगायतका सहरको वायुमा परेको हो । वन डढेलो नियन्त्रणमा नआएसम्म प्रदूषण बढ्दै जाने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘जानाजान वनमा डढेलो लगाउने, जथाभावी फोहोर जलाउनेजस्ता काम हुने गरेको तथा डढेलो लगाउनेलाई कडा कारबाही नहुँदा पनि वातावरणमै समस्या आउने अवस्था आएको हो ।’

    विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० सम्मको एक्युआईलाई राम्रो मानिन्छ भने ५१ देखि १ सयसम्मको एक्युआईलाई सावधानीको विन्दु मानिन्छ । १०१ देखि १५० सम्मले श्वास–प्रश्वास र मुटुरोगीलाई असर गर्ने तथा त्योभन्दा माथि २ सयसम्मलाई अस्वस्थकर वायु मानिन्छ । २०१ देखि ३ सयसम्मको एक्युआई अति अस्वस्थ अवस्थाको वायु तथा त्योभन्दा माथिलाई खतरनाक वायु भनेर बुझिन्छ । 

    काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३ सयभन्दा बढी भएको अवस्थालाई विपत्को रूपमा लिने उल्लेख छ । यसप्रकारको विपत् रोक्नका लागि कार्ययोजनामा फोहोर जलाउने कार्य रोक्ने, सडक सफा गर्न ब्रुमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने कार्ययोजनामा उल्लेख छ ।