काठमाडौं/ सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ । अभियानको शुभारम्भ गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष अपरेसन सञ्चालन गर्ने घोषणा गर्नुभएको छ ।
गृहमन्त्री लामिछानेले आवश्यक संशोधन गर्नुपर्ने नीति, नियम र ऐन संशोधन गरेरै भए पनि सार्वजनिक यातायातको रुट तथा सहज सडक यात्राको सुधारमा मन्त्रालय लागिरहेको बताउनुभयो । ट्राफिक नियम पालनामा लापरबाही भइरहेको सन्दर्भ जोड्दै उहाँले अब प्रहरीको बोली नरम र कारबाही कडा हुनुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘हामी तपाईंहरूको ज्यान जोगाउन लागेका छौँ, अब ट्राफिक नियम पालनामा निर्मम हुन्छौँ, त्यसअघि केही समय सचेतना कार्यक्रम गरेर समय भने दिन्छौँ ।’ सरकारले ट्राफिक प्रहरीलाई दिँदै आएको इन्सेन्टिभ पुनः वितरण गर्ने जानकारी गराउँदै उहाँले अब नियम उल्लंघन गर्नेविरुद्ध जानकारी दिनेलाई समेत पुरस्कार दिने गरी काम गर्ने तयारीमा मन्त्रालय लागेको जानकारी दिनुभयो ।
सडकमा ट्राफिक लाइट जोडिँदा राष्ट्रिय समाचार बन्ने अवस्थाले नै नेपाल कति पछाडि छ भनेर देखिने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले यो वर्ष परिवर्तनको वर्ष भएको बताउनुभयो । विगतमा सडक सुरक्षा कार्यदलले तयार पारेको प्रतिवेदन उपलब्ध गराउन आग्रह गर्दै गृहमन्त्री लामिछानेले सडक सुरक्षा सुधारका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले ट्राफिक सचेतना कार्यक्रमले सबैलाई जिम्मेवार बनाउने हुँदा यो अभियान अति महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीको व्यवहार सुधारमा जोड दिनुभयो ।
काठमाडौं उपत्यका प्रहरी प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उपत्यकाको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात व्यवस्थापनमा विशेष ध्यान दिएर काम थालेको बताउनुभयो । यातायातमा समेत सिसिक्यामेरा जडान गर्न सके दुव्र्यवहार रोक्न सहज हुने उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस