७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

कलात्मकभन्दा मनोरञ्जनात्मक चलचित्र नै सफल



  • आफ्नै खबर
  • १ महिना अघि
  • पाठक संख्या ६१
  • काठमाडौं/  गत वर्ष कलात्मक वा बजारलाई ध्यानमा राखेर बनाइएको कमै चलचित्र प्रदर्शन भएका छन् । हल्कारा, डाकिनी, जुलेबीलगायात केही चलचित्र प्रदर्शन हुँदा चलचित्र भवनमा दर्शकको अभाव देखियो । चलचित्रले समीक्षात्मक रूपमा राम्रो चर्चा बटुले पनि व्यावसायिक रूपमा निकै कमजोर व्यापार गरे ।

    हाल प्रदर्शनमा रहेको चलचित्र ‘द रेड सुटकेस’ले कस्तो व्यापार गर्छ यो भने हेर्न बाँकी छ । सुरुवाती व्यापार भने यसको पनि कमजोर देखिएको छ । वर्षभर सफल भएका चलचित्रको सूचीमा हास्य विधामा निर्मितकै संख्या बढी छ । 

    कलात्मक र व्यावसायिक दुवै पाटोमा ‘जारी’ नामक चलचित्रले सफलता पाएको थियो । त्यसपछि प्रदर्शन गरिएका ‘पशुपति प्रसाद २, भष्मे डन’, ‘दिमाग खराब’, ‘परदेशी २’, ‘नांगो गाउँ’, ‘महाजात्रा’ व्यावसायिक रूपमा सफल भएका थिए ।

    उल्लेखित अधिकांश चलचित्रमा सामाजिक विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । कोरोना महामारीपश्चात् डिजिटल प्लेटफर्मको प्रयोग नेपालमा पनि बढेको थियो । विश्वभरका चलचित्र हेरेर भिन्न–भिन्न स्वाद लिए पनि दर्शक रमाइला चलचित्रमा नै केन्द्रित देखिएको चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमल्सेनाको विश्लेषण छ । कोरोना महामारीपछि चलचित्र साक्षरता बढेको मानिए पनि त्यसको प्रभाव नदेखिएको उहाँले बताउनुभयो ।

    ‘विश्वका चलचित्र महोत्सवमा पुगेका चलचित्रमा दर्शकको आकर्षण नदेखिनुले उहाँहरू चलचित्र भवनमा विशुद्ध मनोरञ्जन लिन पुग्नुहुन्छ भन्ने स्पष्ट संकेत गरेको छ । शृंखलाबद्ध र रमाइला चलचित्रमा दर्शकको उपस्थिति देखियो,’ लेखक तिमल्सेनाले भन्नुभयो, ‘निर्माता र निर्देशकले एकै किसिमका चलचित्र भने दिनुहुँदैन । केही फरक गरिरहनुपर्छ । नत्र बिस्तारै चलचित्रप्रति आकर्षण घट्न सक्छ ।’

    निर्देशक रामबाबु गुरुङले दर्शकले रुचाएसम्म शृंखला बनिरहने जानकारी दिनुभयो । ‘कबड्डी’ शृंखलालाई अगाडि बढाउने तयारीमा रहनुभएका निर्देशक गुरुङले कलात्मक वा फरक किसिमका चलचित्रमा अहिले निर्माताको रूपमा सहभागी रहेको बताउनुभयो ।

    यो वर्ष ‘मनसरा’, ‘गाउँ आएको बाटो’, ‘राजागन्ज’, ‘शाम्बाला’जस्ता चलचित्र प्रदर्शन हुँदै छन् । यी चलचित्रको व्यावसायिक नतिजाले पनि बाटो देखाउने चलचित्रकर्मीको भनाइ छ ।

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?