२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

चिसापानी–राजकाँडा केबलकारको शिलान्यास 



  • आफ्नै खबर
  • ३ बैशाख २०८१ सोमबार (१ बर्ष अघि)
  • पाठक संख्या १०७
  • कैलाली/  कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको शिलान्यास भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा पूजा गरेर रुख कटान सुरु गरी आयोजनाको पहिलो चरणको निर्माण कार्य सुरु गर्नुभएको हो । 

    आयोजनाको शिलान्यास गर्दै अध्यक्ष ढकालले प्राकृतिक स्रोत एवं पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यहाँ लगानी गर्ने उद्देश्यले केबलकार निर्माण सुरु गरिएको बताउनुभयो । ८ वर्षको निरन्तर प्रयासपछि आयोजना निर्माण सुरु भएको जानकारी दिँदै उहाँले २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयो । 

    आइएमई ग्रुपले प्रत्येक प्रदेशमा कम्तीमा एउटा पर्यटकीय पूर्वाधार निर्माण गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशको प्रदेशद्वारका रूपमा रहेको कर्णालीको चिसापानीमा पनि केबलकार निर्माण सुरु गर्न लागेको जनाइएको छ । केबलकारबाट हुने कुल आम्दानीको २ प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ । 

    केबलकार निर्माणका लागि आवश्यक उपकरण अस्ट्रेलियाको डोप्लन मेयर कम्पनीबाट ल्याइनेछ । केबुलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा सय बेड क्षमताका होटेल र सभाहल निर्माण गरिनेछन् । केबलकार सञ्चालनका लागि सय बिघा क्षेत्रफलको जग्गा कम्पनीको नाममा नामसारी भइसकेको बताइएको छ ।

    चिसापानी–राजकाँडा केबलकार निर्माणसँगै पर्यटकका लागि होमस्टे र रिसोर्ट पनि निर्माण गरिनेछ । आयोजनामा कैलालीका उद्यमी सूर्यबहादुर थापासहित स्थानीय व्यवसायीको सहभागिता रहेको जानकारी दिइएको छ ।

    कर्णाली नदीको चिसापानी पुलनजिकै रहेको आयोजनास्थलबाट सुरु हुने केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरव, कालिकादेवी, कैलाशधामलगायतका धार्मिक स्थल, हात्ती ढुंगालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने उल्लेख छ ।

    ५ अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको केबलकारको कुल लम्बाइ ३ किलोमिटर १ सय मिटर हुनेछ । केबलुकारमा १५ वटा टावर र ३४ वटा गन्डोला रहने जनाइएको छ । करिब १० मिनेट यात्रा हुने उक्त केबलकारले दैनिक ६ हजार यात्रुलाई सेवा दिन सक्नेछ ।