२४ बैशाख २०८२ बुधबार | 07 May 2025 Wed

नागढुंगा सुरुङमार्ग छिचोलियो



  • आफ्नै खबर
  • ३ बैशाख २०८१ सोमबार (१ बर्ष अघि)
  • पाठक संख्या १६९
  • काठमाडौं/  नेपाललाई  सुरुङयुगमा लैजाने पहिलो कडीको रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्फोटक पदार्थको स्विच थिचेपछि धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ छिचोलिएको हो । 

    धादिङको सिस्नेखोला र काठमाडौंको चन्द्रागिरि नगरपालिका– १ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका उच्च अधिकारी तथा संघीय सांसद एवं प्रदेश सांसदहरूको उपस्थितिमा सुरुङ छिचोल्ने कामलाई पूर्णता दिइएको हो ।

     

    नागढुंगाको घुमाउरो सडक र जामबाट यात्रुलाई पर्दै आएको अप्ठ्यारो हटाउने उद्देश्यले निर्माण गरिएको सुरुङमार्गले नागरिकलाई थप सहज हुनेछ । सुरुङमार्गको कुल लम्बाइ दुई किलोमिटर ६ सय ८८ मिटर छ । आपत्कालीन रूपमा प्रयोग गरिने सुरुङ भने गत साउनमा नै छिचोलिइसकेको छ । 

    आज छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमित रूपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ । नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरका अनुसार सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका काम बाँकी छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको आयोजनाको कुल लागत झन्डै २२ अर्ब रुपैयाँ पुगेको जनाइएको छ । 

    राष्ट्रिय लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण : प्रधानमन्त्री


    प्रधानमन्त्री पुष्पकमल दाहालले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरुङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङ छिचोलिएको अवसरमा प्रधानमन्त्री दाहालले  पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । 

    ‘यस सुरुङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरुङसम्बन्धी दस्ताबेज निर्माण हुनेछ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘यसले नेपाललाई सुरुङ युगमा पुर्याउन महत्वपूर्ण योगदान गर्नेछ ।’