दाङ/ सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले सकारात्मक पक्षलाई जोड दिएर समाचार लेख्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङले आजदेखि आयोजना गरेको ‘मिडिया महोत्सव’को उद्घाटन गर्दै उहाँले सञ्चारमाध्यमले समाजमा रहेका नकारात्मक पक्षलाई प्राथमिकता दिनुभन्दा सकारात्मक पक्षलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।
नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा विषय प्राथमिकतासहित आउँदा त्यसले समाजलाई नकारात्मकतातर्फ लैजाने मन्त्री शर्माले बताउनुभयो । सञ्चारमाध्यममा निराशाभन्दा आशाका कुरा बढी आउनुपर्ने उहाँको भनाइ थियो ।
‘समाजमा केही नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति पनि हुन्छन् । उनीहरूका विषय प्राथमिकतामा आउँदा समाज नकारात्मकतातर्फ जाने सम्भावना बढी हुन्छ,’ मन्त्री शर्माले भन्नुभयो, ‘यसले कुनै पनि क्षेत्रमा राम्रा मान्छे छैनन् भन्ने सन्देश जान्छ । त्यसैले हामीले सकारात्मक विषयवस्तुलाई समाचारमार्फत उजागर गर्न आवश्यक छ ।’
‘मिडिया काउन्सिल बनाउनुपर्छ’
अहिलेसम्म सञ्चारमाध्यम परम्परागत कानुनहरूबाट सञ्चालन भइरहेका भन्दै मन्त्री शर्माले यसलाई पुनर्संरचना गर्नु अहिलेको अपरिहार्य आवश्यकता भएको बताउनुभयो । प्रेस काउन्सिललाई ‘मिडिया काउन्सिल’ बनाएर सबै किसिमका सञ्चारमाध्यमलाई व्यवस्थित गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
मन्त्री शर्माले भन्नुभयो, ‘आमसञ्चार प्राधिकरणको कानुन पनि अन्तिम चरणमा छ । त्यो गठन भएपछि सञ्चारमाध्यम तथा पत्रकारको क्षमता विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ । साथै सरकारी सञ्चारमाध्यमको पनि पुनर्संरचना हुन आवश्यक छ ।’ नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकै ठाउँबाट सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस