१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग



  • रासस
  • ९ बैशाख २०८१ आईतबार (७ महिना अघि)
  • पाठक संख्या २५
  • महोत्तरी/  महोत्तरीको मटिहानी नगरपालिकाका विभिन्न कृषक समूहमा आबद्ध बाख्रापालक किसान समूहलाई नश्ल सुधारका लागि बिउबोका प्रदान गरिएको छ । 

    मटिहानी नगर कार्यपालिकाको कार्यालय र हेफर प्रोजेक्ट नेपालको सहयोगमा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले शनिबार नगर क्षेत्रका किसान समूहमा आबद्ध २० जना महिलालाई बोयर जातका उन्नत बिउबोका प्रदान गरिएको हो । बिउबोकाबाट स्थानीय जातका बाख्रामा नश्ल सुधार भई किसानको आयआर्जनमा मद्दत पुग्ने नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो ।

    बोयर जातका उन्नत बिउबोकाबाट अब बाख्राले जन्माउने पाठापाठीको नश्ल सुधार हुने र आफूहरूको आम्दानी बढ्ने महिला किसान बताउँछन् । ‘अब हाम्रा बाख्राले चाँडै बढ्ने र ठूला हुने पाठापाठी जन्माउनेछन्, यिनबाट पहिलेका पाठापाठीभन्दा बढी आम्दानी हुनेछ,’ बिउबोका पाएपछि मटिहानी– १ की बाख्रापालक महिला किसान हीरा सहनी भन्नुहुन्छ, ‘यसले हाम्रो आर्थिक अवस्थामा सुधार हुनेछ ।’

    हीराजस्तै मटिहानी– ३ आवर बस्तीकी ललितादेवी र मटिहानी– ५ विसनपुरकी सरिता रामले पनि उन्नत जातका बिउबोका पाएपछि अब आफ्ना गोठमा जन्मने पाठापाठी चाँडै बढ्ने, खँदिलो मासु भएका र बढी तौलका हुनेमा आफू ढुक्क रहेको बताउनुभयो । नगर क्षेत्रमा किसान समूहमा आबद्ध महिला किसानलाई क्रमशः बिउबोका प्रदानको कार्यक्रमलाई निरन्तरता दिइने परियोजना प्रबन्धक महेश यादवले बताउनुभयो ।

    यो कार्यक्रमले गरिब वर्गका किसानले आर्थिक उपार्जनमा थप अवसर बढाउने नगरप्रमुख मण्डल बताउनुहुन्छ । पशुपालन मात्र नभई नगर क्षेत्रमा खेती गर्ने, अन्नबाली, तरकारी, दलहन र तेलहन बाली लगाउँदै आएका किसानलाई बिउ, मलदेखि खेतीमा आवश्यक प्राविधिक सहयोग र बजारीकरणमा पनि सहयोग गर्दै आएको उहाँ बताउनुहुन्छ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?