काठमाडौं/ नेपाल र कतारबीच कला–संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।
कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज सोल्टी होेटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरूको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदान–प्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदान–प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यसैगरी युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारीपत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गर्नुभएको छ ।
यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच पनि लगानी आदान–प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ बिन जसिम अल थानीले हस्ताक्षर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस