काठमाडौं नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को आयोजनामा भृकुटीमण्डमा जारी ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द क्लिन इनर्जी सिनर्जी’ विषयक सत्रमा वक्ताहरुले वैकल्पिक ऊर्जाको पनि प्रयोग बढाउँदै ऊर्जा मिश्रणमा जानुपर्नेमा जोड दिनुभएको हो ।
ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जा निर्विकल्प रहेको उहाँहरुको भनाइ छ । कार्यपत्र प्रस्तुत गर्दै काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं हाइड्रोजन विज्ञ विराजसिंह थापाले सन् २०३० सम्ममा हाइड्रोजनको मूल्यमा ६२ प्रतिशतले कमी आउने र त्यसका लागि नेपाल आजैबाट तयार हुनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ विश्वविद्यालयले हाइड्रोजनबाट गाडी चलाएको र चुल्हो बालेर साङ्केतिक रहेको भन्दै उहाँले सरकार र निजी क्षेत्र यसमा आउनुपर्नेमा आवश्यकता औँल्याउनुभयो ।
काठमाडौं विश्वविद्यालयले बुद्धभूमि हाइड्रोपावरसँग हाइड्रोजन उत्पादनमा सहकार्य गरेको पनि उहाँले जानकारी दिनुभयो । सरकारले हाइड्रोजन नीति बनाए पनि ऐन, नियम, कार्यविधि बनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार हाइड्रोजनसम्बन्धी कार्यविधि बनाएर निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्न सकिन्छ ।
‘सोलार पोटेन्सियल एण्ड इम्प्लिमेन्टिएसन अन मिक्स इनर्जी’ विषयक कार्यपत्र प्रस्तुत गर्दै इप्पानका सदस्य कुवेशमणि नेपालले नेपालमा हालसम्म परम्परागत ऊर्जा ६० प्रतिशत रहेको बताउनभयो । घरायसी काममा मात्रै ६० प्रतिशत ऊर्जा खपत हुने गरेको भन्दै उहाँले यसको विकल्प सौर्य ऊर्जा हुनसक्ने बताउनुभयो ।
सरकारले २०७२ सालमा जलविद्युत्, सौर्य र वायु गरी १० हजार मेगावाट उत्पादनको लक्ष्य राखेकामा ९ वर्षमा जम्मा १ सय ४ मेगावाट मात्र सौर्य ऊर्जा उत्पादन भएको उहाँले बताउनुभयो । उहाँले सरकार सोलार उत्पादनमा जुन रुपमा जानुपर्ने हो त्यसमा नगएको पनि टिप्पणी गर्नुभयो । उहाँले सौर्य ऊर्जासम्बन्धी छुट्टै नीति आवश्यक भएको बताउनुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धक कुशल गुरुङले अग्र्यानिक फोहोरलाई पोखरामा परीक्षण गरिरहेका बताउनुभयो । नेपालमा करिब ६० प्रतिशत कुहिने फोहोर निस्किने गरेको र त्यसको २० प्रतिशत मात्रै प्रयोग गर्न सके २५ लाख टन अग्र्यानिक मल उत्पादन गर्न सकिने गुरुङको भनाइ थियो ।
मुस्ताङमा एक मेगावाटको बिलेट लैजान सके १२ सय मेगावाट सौर्य र ९ सय वायु ऊर्जा गरी २१ सय मेगावाट ऊर्जा उत्पादनको सम्भावना अध्ययनले देखाएको उहाँले जानकारी दिनुभयो ।
सिम्पल इनर्जीका प्रमुख कार्यकारी निर्देशक अपार न्यौपाने उद्योगहरुका छानामा सोलार प्यानल राखेर उद्योगमा स्वच्छ ऊर्जा प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका उप निर्देशक डा लक्ष्मण घिमिरेले नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन पुगेको ठाउँमा केन्द्रले ऊर्जा मिश्रणको काम सुरु गरेको जानकारी दिनुभयो । यस्तै उद्योगले सोलार राखेमा ५ लाखसम्म सहुलियत दिने गरेको उहाँको भनाइ छ । विभिन्न माध्यम प्रयोग गरी १० लाख घरधुरीमा विद्युतीकरण गरेको घिमिरेले जानकारी दिनुभयो । दाउरा विस्थापनका लागि वायोग्यास प्रयोगलाई केन्द्रले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सीडीई लक्ष्मी झाले हाल नेपालको ऊर्जा जडित क्षमता तीन गिगावाट (तीन हजार मेगावाट) पुगेको, विद्युत् चुहावट घट्नेक्रममा रहेको र मन्त्रालयले तय गरेको १३ वटा सूचकको प्रगति राम्रो भएको बताउनुभयो । सरकारको नीतिले गर्दा वैकल्पिक ऊर्जाको विकास विस्तारै हुँदै गएको उहाँको भनाइ थियो । उहाँले ग्रीन हाइड्रोजनको नीति बनेको र यसको ऐनहरु बन्ने क्रममा रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस