२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

पर्सामा थपिए ७ सय घरेलु उद्योग



  • रासस
  • १६ बैशाख २०८१ आईतबार (१२ महिना अघि)
  • पाठक संख्या १४०
  • पर्सा/  चालू आवको ९ महिनामा पर्सा जिल्लामा ८६ करोड १० लाख ८२ हजार रुपैयाँ लगानीमा ७ सय ३९ घरेलु तथा साना उद्योग थपिएका छन् । पर्साको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जय सिंहले गत आवमा थपिएबराबर नै पुग्ने अनुमान गर्नुभएको छ । 

    अघिल्लो आवमा १ हजार ८९ नयाँ उद्योग थपिएका थिए । चालू आवमा दर्ता भएका उद्योगमध्ये प्राइभेट फर्ममा दर्ता भएका घरेलु तथा साना उद्योगको संख्या सबैभन्दा बढी अर्थात् ६ सय ९४ पुगेको छ । साझेदारी फर्ममा दर्ता गरिएका १० वटा मात्रै छन् भने ‘प्राइभेट लिमिटेड’मा दर्ता हुनेको संख्या ३५ छ ।

    चालू आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने ७१ करोड ७ लाख ८४ हजार रुपैयाँ रहेको छ । जसको कुल पुँजी १ अर्ब ५७ करोड १८ लाख ६६ हजार रहेको छ । चालू आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता ३ अर्ब १ करोड ४५ लाख ८८ हजार रुपैयाँ रहेको छ ।   

    उक्त कार्यालयले चालू आवको ९ महिनामा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर ५९ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । गत आवमा पर्सामा दर्तामध्ये प्राइभेट फर्मको संख्या १ हजार २५ थियो । साझेदारी फर्मको संख्या १३ र प्राइभेट लिमिटेडको संख्या ५१  थियो । गत आवमा दर्ता भएका नयाँ घरेलु उद्योगको स्थिर पुँजी १ अर्ब ५४ करोड ४४ लाख ६९ हजार रुपैयाँ थियो ।  

    कार्यालयले गत आवमा दर्ता भएका घरेलु उद्योगबाट १ करोड ६ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।