७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

खप्तडमा वैशाख २१ देखि साइकलयात्रा



  • रासस
  • ३ हप्ता अघि
  • पाठक संख्या ४२
  • कैलाली/  सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाई कार्यालय धनगढीका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको हो ।

    खप्तड क्षेत्रमा साइकल यात्राका लागि आवश्यक तयारी पूरा भएको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाई कार्यालयका योजना अधिकृत दानबहादुर थापाले जानकारी दिनुभयो । वैशाख २१ देखि २८ गतेसम्म साइकलयात्रा गर्ने गरी तयारी भएको उहाँले बताउनु भयो । खप्तडको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसार गर्न साइकल यात्राका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको योजना अधिकृत थापाले जानकारी दिनुभयो । 

    साइकलयात्रा डडेल्धुराबाट खप्तडको त्रिवेणी धामसम्म गरिने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाई कार्यालयले जनाएको छ । साइकल यात्राका लागि परामर्शदातासँग छलफलसमेत गरी तयारी अघि बढेको  थापाको भनाइ छ । यसैगरी प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाई कार्यालयले चालु आव २०८०/८१ मा पर्यटकलाई लक्षित गर्दै खप्तडमा बीचपानी–त्रिवेणी धामसम्म ४ दशमलव ५ किलोमिटर पदमार्ग निर्माण गर्न अनुमानित १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको एकाई कार्यालयले जनाएको छ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?