२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

ठोरी भन्सार सञ्चालनमा



  • रासस
  •     (१२ महिना अघि)
  • पाठक संख्या १९५
  • चितवन/  माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा ल्याइएको छ । एक समारोहका बीच प्रदेशसभा सदस्य ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतो, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरी भन्सार सञ्चालनमा ल्याउनुभएको हो ।

    त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी (केरुङ)को प्रवेशबिन्दु ठोरी नाका रहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ का सन्दर्भमा भरतपुर महानगरपालिकाले नाका सञ्चालनमा पहल गरेसँगै लामो समय बन्द रहेको नाका सञ्चालनमा आएको हो । भरतपुरबाट सबैभन्दा छोटो दूरीमा भारत जोडिएको स्थान ठोरी हो । भरतपुरबाट ठोरी ७० किमी दूरीमा छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य ठाकुर ढकालले यो नाका सञ्चालनसँगै चितवनको सबै क्षेत्रमा आर्थिक विकासका बाटा खुल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब जिल्ला सँगै देशको आर्थिक विकासमा सहयोग पुग्छ ।’

    भरतपुर महानगरपालिका प्रमुख दाहालले भन्सारलाई सहज, व्यवस्थित र नियमित रूपमा सञ्चालनमा ल्याउन ठोरी गाउँपालिकाको मुख्य भूमिका रहने बताउनुभयो । लामो समयको पहलपछि नाका पुनः सञ्चालनमा ल्याउन सकिएको भन्दै उहाँले नाका सञ्चालनमा आएपछि भारतबाट ठोरी हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगञ्ज र भैरहवा नाकाबाट लिने अस्थायी पासको झन्झट हटेर गएको बताउनुभयो ।

    भन्सार विभागका महानिर्देशक डुण्डीप्रसाद निरौलाका अनुसार भारतीय नम्बरप्लेटको एउटा सवारीले १ वर्षभित्र ३० दिन नेपालमा अस्थायी पास लिएर सवारी चलाउन पाइने छ । भन्सारलाई थप स्तरोनन्ति गर्न अहिले अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि थप निक्र्यौल निस्किने उहाँको भनाइ थियो ।

    भन्सार स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सन्दर्भमा हालै सङ्घीय मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । पर्साको छोटी नाकामध्ये सबैभन्दा बढी चल्ती अवस्थामा रहेको ठोरीमा रहेको छोटी भन्सार कार्यालयको भवन करिब दुई वर्ष अगाडि निर्माण गरी तयारी अवस्थामा थियो । यसअघि गत वर्ष माघ २७ गते नै भन्सारको सेवा सुरुआत गर्ने भनिएको भए पनि प्रक्रिया पूरा नभएको भन्दै अन्तिम समयमा रोकिएको थियो ।

    थपियो सेवा
    वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले छोटी भन्सार कार्यालय ठोरीमा सवारीसाधनको अस्थायी पैठारीको अनुमति दिने सेवा थप गरिएको बताउनुभयो । 
    ‘भारतको सीमावर्ती क्षेत्रबाट ठोरी नाका हुँदै आउने पर्यटकका सवारीसाधनलाई ठोरीमा नै प्रवेश गर्न पाउने वातावरण तयार भएको छ । पहिला वीरगञ्ज भन्सार कार्यालयबाट मात्रै पर्यटकको प्रवेश गराउने गथ्र्यौं ।

    अबदेखि भने ठोरीबाट पनि इन्ट्री गर्ने वातावरण बनेको छ’, उहाँले भन्नुभयो, ‘यो सेवा प्रवाह गरेसँगै भारतीय पर्यटकलाई पर्सा तथा भरतपुरलगायतका पर्यटकीय गन्तब्यमा आउनलाई सहज हुने अपेक्षा गरेका छौँ ।’  प्रमुख भन्सार प्रशासक पन्थीले छोटी भन्सार कार्यालयमा थप गरिएको सेवा बिस्तारले आगामी दिनमा नेपालका पर्यटकीयस्थलमा पर्यटनको आवागमनमा सहज हुने बताउनुभयो ।