२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

सन्धिखर्कका किसानलाई कफीखेती तालिम



  • रासस
  •     (१२ महिना अघि)
  • पाठक संख्या ११०
  • अर्घाखाँची/   सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी तालिम दिइएको छ । व्यावसायिक रूपमा कफीखेती गर्ने ४१ किसानलाई कफीका विभिन्न जात, बिरुवा लगाउने विधि, कफीको स्यहारसुसार तथा गर्नुपर्ने सबै प्रक्रियासम्बन्धी सम्पूर्ण जानकारीसहित प्रशिक्षण दिइएको हो ।

    अन्नबाली लगाउँदा बाँदर तथा जङ्गली जन्तुबाट बचाउन निकै गाह्रो भएको र पर्याप्त सिँचाइ सुविधा नहुँदा अन्य खेती गर्न गाह्रो भएको समयमा कफीखेती राम्रो विकल्प भएको तालिममा भाग लिएका किसान बताउँछन् । तालिममा सहभागी प्रत्येक किसानले २ देखि ६ रोपनी जग्गामा २ सयदेखि ६ सय कफीका बिरुवा लगाउने कार्यक्रम रहेको कफी प्रवद्र्धन कार्यक्रम समन्वय समिति सन्धिखर्क–१० का अध्यक्ष धर्मराज भुसालले बताउनुभयो ।

    सन्धिखर्क नगरपालिका कृषि विकास शाखाको सङ्घीय सशर्त अनुदानतर्फको २० लाख रुपैयाँको कार्यक्रम पनि छ । कार्यक्रमअन्तर्गत कफीखेतीका लागि खाडल खन्ने, प्राङ्गारिक मल खरिद, सिँचाइका लागि पानीट्याङ्की निर्माण गर्ने तालिम तथा भ्रमणको कार्यक्रम राखिएको सन्धिखर्क–१० का वडाध्यक्ष मोहनसिंह ठकुरीले बताउनुभयो । 

    सन्धिखर्क नगरपालिका कृषि विकास शाखाका प्रमुख राजेन्द्र भट्टराई र फरवार्ड नेपालका ‘फिल्ड अफिसर’ नोमराज पौडेलले कफीखेतीसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।