७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

अनुदानले चेपाङ समुदायमा बाख्रापालन बढ्दै



  • रासस
  • २ हप्ता अघि
  • पाठक संख्या ३५
  • चितवन/   इच्छाकामना गाउँपालिका–१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजनामा हुनुहुन्छ । गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि उहाँमा बाख्रा थप गर्ने सोच आएको हो । 

    उहाँले भन्नुभयो, ‘छानो बनाउन नसकेर खोर निर्माण अधुरै थियो, गाउँपालिकाले २५ हजार रुपैयाँ सहयोग गरेपछि केही रकम आफैँ जोहो गरेर खोर निर्माण सकिएको छ ।’ उहाँको खोरमा अहिले १५ वटा बाख्रा छन् । यस वर्ष ६ वटा खसीबोका बिक्री गरेर ६० हजार रुपैयाँ आम्दानी गरेको उहाँले बताउनुभयो । 

    वडा नं १ तार्सिलिङकै अञ्जु चेपाङले गाउँपालिकाको आर्थिक सहयोगमा बाख्राको खोर निर्माण गरेपछि व्यावसायिक बाख्रापालन गर्ने सोचमा रहेको बताउनुभयो । ‘गाउँपालिकाको सहयोगले खोर सुधार भएको छ,‘ ’उहाँले भन्नुभयो, ‘ बाख्राको सङ्ख्या बढाएर अब व्यावसायिक रूपमै पाल्छु ।’

    किसानलाई समृद्ध बनाई आयआर्जन बढाउन कृषि र पशुपालनमा जोड दिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । इच्छाकामनामा प्रशस्त घाँसे जङ्गल भएकाले समस्या नहुने हुँदा बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिने उहाँको भनाइ छ । 

    बाख्राको मलबाट कृषि बालीसमेत फस्टाउने भएकाले दोहोरो फाइदा पुग्ने उहाँ बताउनुहुन्छ । अहिले गाउँपालिकाभर ६० हजार बाख्रा पालन भएको र यसलाई क्रमशः बढाएर १ लाख ५० हजार पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

    गाउँपालिकाले खोर सुधारसँगै उन्नत जातको बोका वितरण, खोरमै पुगेर पिपिआर खोप लगाउने, बाख्राले रुचाउने उन्नत जातको घाँसको बेर्ना वितरण, बाख्रामा लाग्ने रोग र उपचारबारे सचेतना कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताउनुभयो । गाउँपालिकको अनुदान कार्यक्रमसँगै किसानमा बाख्रा पाल्ने उत्साह बढेको उहाँको भनाइ छ । बाख्रापालनबारे राम्रोसँग बुझाउन र प्रवर्द्धन गर्न सकियो भने समृद्धिको बाटोमा अघिबढ्न मद्दत पुग्ने उहाँ बताउनुहुन्छ ।

    गाउँपालिका पशु शाखा प्रमुख डा सुनिल ज्ञवालीका अनुसार यस आवमा गाउँपालिकाका ७ वटै वडामा गरी ७९ वटा खोर निर्माण गरिएको छ । यही आवमा थप १० वटा खोर निर्माण हुने उहाँले बताउनुभयो । गत आवमा २ सय ८७ वटा खोर निर्माण भएका थिए । बाख्रापालक किसान र गाउँपालिकाको ५०–५० प्रतिशत लागतमा खोर सुधार कार्यक्रम सञ्चालन गरिएको हो । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?