७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

३३.२० प्रतिशत सकियो काठमाडौं-तराई-मधेस द्रुतमार्गको काम



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या ७०
  • काठमाडौं काठमाडौं, काठमाडौं–तराई/मधेस द्रुतमार्गको निर्माण कार्य ३३.२० प्रतिशत सम्पन्न भएको छ। 

    मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्गको प्रगति विवरण सार्वजनिक गरेको हो। 

    कार्य प्रगति विवरण सार्वजनिक गर्दै आयोजना प्रमुख विकास पोखरेलले हालसम्मको समष्टिगत भौतिक प्रगति ३३.२० प्रतिशत रहेको र समष्टिगत वित्तीय प्रगति ३३.७१ प्रतिशत रहेको जानकारी दिनुभयो। 

    आयोजनाको चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक लक्ष्यको तुलनामा हालसम्मको भौतिक प्रगति ८२.७७ प्रतिशत र वित्तीय प्रगति ६९.४१ प्रतिशत रहेको पनि उहाँले जानकारी दिनुभयो।

    कुल लम्बाई ७०.९७७ किलोमिटर रहेको यस द्रुत मार्गमा जम्मा लम्बाई १०.०५५ किलोमिटर हुनेगरी ६ स्थानमा सुरुङ निर्माण हुने जनाइएको छ। त्यस्तै १२.८८५ किमी लम्बाई हुनेगरी ८९ स्थानमा पुल निर्माण हुनेछ। ६ वटामध्ये ३ वटा सुरुङ निर्माणको क्रममा रहेको र ३ वटामा खरिद सम्झौता भएर प्रक्रिया अगाडि बढेको आयोजना प्रमुख पोखरेलले जानकारी दिनुभयो। 

    उहाँका अनुसार ८९ पुलमध्ये ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका र ४ वटा जग्गा अधिग्रहण सम्बन्धी समस्या रहेको खोकना क्षेत्रमा परेको छ। कुल २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतको सो द्रुत मार्ग २०८३ साल चैत मसान्तमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ।  

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?