२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

कामपाको सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन हुने 



  • रासस
  •     (१२ महिना अघि)
  • पाठक संख्या ११०
  • काठमाडौं/ काठमाडौं महानगरपालिकाले तथ्यांक र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन तथा प्रसारण गर्ने भएको छ । नियमन क्षेत्राधिकारअन्तर्गतका प्रतिनिधिहरूलाई बोलाएर सूचना प्रवाह संयन्त्रका विषयसमेत अवगत गराउने कामपाको तयारी रहेको छ । 

    कामपाको क्षेत्राधिकारभित्र सामुदायिक तथा संस्थागत विद्यालय, शिक्षण तथा शैक्षिक संस्थाहरू, सहकारी संस्थाहरू र स्वास्थ्य सेवा प्रदायकहरू छन् । कामपाका सूचना अधिकारी वसन्त आचार्यले ०८० सालमा कामपाले जारी गरेको ‘सञ्चार तथा सूचना ऐन’को परिच्छेद ८ मा ‘सूचनाको हक कार्यान्वयन गराउने व्यवस्था’ भएको जानकारी दिनुभयो । यसमा सार्वजनिक महत्वका सूचनाको हकको प्रचलन, संरक्षण संवद्र्धन, स्वतः प्रकाशन, प्रसारण तथा प्रवाहलाई कामपाको दायित्वका रूपमा राखिएको उहाँको भनाइ छ । 

    ऐनले विभाग र वडाका प्रमुख वा त्यसपछिको जिम्मेवारीमा रहने अधिकारीलाई सहायक सूचना अधिकारीका रूपमा तोकेको छ । नियमन क्षेत्राधिकारभित्र रहेका संघसंस्थामा सूचना अधिकारी तोक्न लगाउने व्यवस्था गरेको उहाँले बताउनुभयो । 

    कामपाका सहप्रवक्ता दीपक अधिकारीले महानगरपालिकाले प्रणालीमार्फत आफूले दिनुपर्ने सूचना नियमित दिएको, आमसञ्चारमाध्यममा स्वतः प्रकाशन–प्रसारण गर्ने गरिएको स्पष्ट पार्नुभयो । सूचना माग गर्ने र प्राप्त गर्ने नागरिकको अधिकारलाई संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सार्वजनिक निकायका व्यक्तिगत वा सार्वजनिक सरोकारका विषयमा नागरिकले सूचना माग गर्न सक्छन् । सूचना माग्ने र पाउने हकभित्र सूचना प्रवाहको हक पनि पर्दछ ।