७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

रारा पुग्ने छोटो सडकको स्तरोन्नति



  • रासस
  • २ हप्ता अघि
  • पाठक संख्या ४२
  • मुगु/  राराताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको तलीतुम गाउँदेखि वडा नम्बर ३ लामाचौरसम्मको सडक विस्तारको काम थालिएको हो ।

    सदरमुकाम गमगढीबाट रारा पुग्न पैदल २ घण्टा र गाडीमा रारा विमानस्थल हुँदै जाँदा ३० मिनेट लाग्छ । गमगढी–लामाचौर दूरी छोटो हुने भएकाले सडक विस्तारको काम सुरु गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर वीरबहादुर जिटीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रारातालको पर्यटन विकासमा टेवा पु¥याउन यो सडक विस्तार र स्तरोन्नतिको काम अघि बढाइएको हो ।’
    विनम्र निर्माण सेवा सुर्खेतले ५५ लाख रुपैयाँमा सडक विस्तारको ठेक्का लिएको छ । ०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । पर्यटकीय मार्गको विस्तारको काम धमाधम भइरहेको छ । 

    ३ किलोमिटर लम्बाइ रहेको उक्त पर्यटकीय सडकमा १.५ किलोमिटर दूरी ४ मिटर चौडाइको ग्राभेल र ४ सय ५० घनमिटर ग्याबिन जाली र २.५ किलोमिटर सडक चौडा पारिने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । 

    रारा पर्यटकीय मार्गको विस्तारको काम सम्पन्न भएमा गमगढीवासीका साथै कर्णाली करिडोर र कर्णाली राजमार्ग हुँदै मुगु जिल्ला सदरमुकाम गमगढी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राराताल पुग्न १० मिनेट मात्र लाग्नेछ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?