तनहुँ/ व्यास नगरपालिका– १३ बेलवासका परियार गैरदलितको सहयोगमा दुर्गा भवानीको मन्दिर स्थापना गरी हिन्दु धर्म संरक्षण अभियानमा जुटेका छन् । परियार समाजले दुर्गा भवानीको मन्दिर बनाउन खोज्दा नगरपालिका, वडा कार्यालयदेखि स्थानीय गैरदलितले समेत सहयोग गरेका हुन् ।
बेलवास बेनीकोट परियार समाजमा आबद्ध ३७ घरले सामूहिक रूपमा हिन्दु धर्मको सारलाई भावी पुस्तासम्म बचाइराख्न गरेको अभियानमा स्थानीय गैरदलितबाट साथ र सहयोग मिलेको समाजका प्रमुख सल्लाहकार धनबहादुर परियारले बताउनुभयो । मन्दिर निर्माणका लागि आफूहरूले करिब ६ आना क्षेत्रफललाई संरक्षण गरेकोसमेत परियारले जानकारी दिनुभयो ।
‘सदियौँदेखि मान्दै आएको हिन्दुधर्म छाडेर अन्य धर्म अँगाल्न चाहनेहरूको चाप समाजमा बढ्दै गयो,’ प्रमुख सल्लाहकार परियारले भन्नुभयो, ‘त्यसैले परियार समाजका सबै भेला भई हिन्दुधर्मलाई नै बचाइराख्नुपर्छ भनेर दुर्गा मन्दिर बनाउन जुट्यौँ ।’
वडाध्यक्ष वसन्त आले, स्थानीय वच्र्याङ्दी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यमबहादुर आले, सचिव सिर्जना तिवारी र स्थानीय मिलन टोल विकास संस्थाका अध्यक्ष सुमित्रा बगालेलगायतबाट समेत मन्दिर बनाउन साथ र सहयोग पाएपछि आफूहरू मन्दिर बनाउन अघि बढेको परियार समाजका अध्यक्ष मनबहादुर परियारले बताउनुभयो ।
उक्त मन्दिर निर्माणका लागि हालसम्म करिब ५ लाख रुपैयाँ खर्च भएको समाजले जनाएको छ । नगरपालिकाको कार्यालय र वडा नम्बर १३ कार्यालयबाट ५०–५० हजार रुपैयाँ प्राप्त भएको र अन्य रकम स्वेच्छिक चन्दाबाटै जुटाइएको अध्यक्ष परियारको भनाइ छ ।
‘सनातनदेखि मान्दै आएको हिन्दुधर्मको संरक्षणमा हामी पनि जुट्नुपर्छ भनेर मन्दिर निर्माणमा अग्रसर भएका हौँ,’ समाजका अध्यक्ष परियारले भन्नुभयो, ‘मन्दिर निर्माणको अभियानमा टोलका सबै गैरदलितको साथ र सहयोग मिल्दा निकै खुसी लागेको छ ।’
परियार समाजले गरेको मन्दिर निर्माण कार्यमा आफूले पनि १ हजार ५ सय रुपैयाँ चन्दा प्रदान गरी ऐक्यबद्धता जनाएको मिलन टोल विकास संस्थाका अध्यक्ष सुमित्रा बगालेले बताउनुभयो । परियार समुदायले मन्दिर निर्माण गरे पनि सबै जातजातिका मानिसले सहभागी भई पूजापाठ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘परियारहरूले मन्दिर बनाएर रचनात्मक काम गर्नुभएको छ,’ टोल विकास संस्थाका अध्यक्ष बगालेले भन्नुभयो, ‘अब सबै मिलेर संयुक्त पूजापाठ गरी धार्मिक एकताको सन्देश दिन आवश्यक छ ।’ मत्स्येन्द्रनाथ रथयात्राको दिन पारेर शनिबार नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतको सहभागितामा पञ्चेबाजासहित बजार परिक्रमा गरी दुर्गाको मूर्तिमा प्राणप्रतिष्ठा गरिएको थियो ।
नगर प्रमुख न्यौपानेले समाजमा विभेदमा परेको समुदायलाई उत्थानका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो । ‘दलित समुदायले मन्दिर बनाउने प्रस्ताव ल्याएपछि हामीले सहयोग नगरी बस्न सकेनौँ,’ नगर प्रमुख न्यौपानेले भन्नुभयो, ‘मन्दिर निर्माणपछि मानिसलाई सत्मार्गमा लाग्न प्रेरणा मिल्ने हाम्रो बुझाइ हो ।’
प्रतिक्रिया दिनुहोस