यु–१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एसियाकप र विश्वकप जित्नु अहिलेको अर्जुनदृष्टि भएको बताएकी छन् । युएईमा सम्पन्न दुईवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको छनोट प्रतिस्पर्धा जितेर गृह जिल्ला महोत्तरी आएकी १८ वर्षीया पूजाले मुलुक फर्कदा सबै क्षेत्रबाट पाएको सम्मानले हर्षविभोर बनाउनुका साथै थप दायित्व बोध बढाएको बताइन् ।
पछिल्लो समय खेलप्रति आम रुपमा जागेको चासो र विश्वासले नेपाली खेल जगतले अबका दिनमा झनझन सफलताको सिँढी चढ्ने उनको विश्वास छ । कप्तान महतोसंग महोत्तरीको गौशाला–९ डुमरवानास्थित उनको घरमै क्रिकेटमा उहाँको लगाव र भविष्यका बारेमा गरिएको कुराकानीको सम्पादित अंश :
छनोट प्रतिस्पर्धा जितेर स्वदेश फर्केपछि पाएको सम्मानले कस्तो महसुस भएको छ ?
युएईबाट छनोट प्रतिस्पर्धा जित्न सक्दा म निकै हर्षविभोर छु । छनोट प्रतिस्पर्धाको जितले नै यहाँ कति उत्साह दिएको रहेछ भन्ने त मप्रति दर्साइएको स्नेह र सम्मानले नै देखाएको छ ।
यहाँ आइपुग्नासाथ मधेस प्रदेश सरकार, स्थानीय तहहरु, विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था, खेलकुद जगत र आम सर्वसाधारणबाट पाएको स्नेह र सम्मानले अबका दिनमा अझ राम्ररी अघि बढ्न हौसला र ऊर्जा दिएको छ । खेलप्रति र खासमा क्रिकेटप्रति बढेको यो चासोले अबका दिन खेलका लागि राम्रो समय आउला भन्ने आशा जागेको छ ।
ग्रामीण परिवेशको सामान्य किसान परिवारमा जन्मिएकी एउटी चेली क्रिकेटमा कसरी जोडियौ ?
हो, म ग्रामीण परिवेशको सामान्य किसान परिवारमा जन्मिएकी हुँ । यहाँको खेतीपातीले घर धान्न धौधौ परेपछि मेरा पिता रञ्जित महतो परिवारसहित कामको खोजीमा भारतको दिल्ली पुग्नुभयो ।
हामी तीन दिदीबहिनी र एउटा भाइ त्यहीं (दिल्ली) बस्न थाल्यौँ । मेरी कान्छी बहिनी आरती र भाइ कृष्ण दिल्लीकै एकेडेमीमा क्रिकेट सिक्थे । म उनीहरुलाई पुर्याउन जान्थे । त्यहींँ प्रशिक्षकले खै ममा के देख्नु भएर हो, मलाई पनि खेलाउन थाल्नुभयो । मैले चार वर्षदेखि खेलको अभ्यास थालेकी हुँ ।
केही समयपछि भाइ एउटा खेलमा सहभागी हुन नेपाल आए । उनको नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंहसँग भेट भएछ । भेटमा भाइले ‘मेरी दिदी पूजा पनि राम्रो खेल्नुहुन्छ, उहाँलाई टिममा राख्नु न’ भनेछन् ।
भाइ दिल्ली फर्केर मेरो खेलका तस्बिर र भिडियोहरु उपाध्यक्ष सिंहलाई पठाउँदा रहेछन् । मेरो खेल भिडियो र तस्बिरमा हेर्नु भएका उपाध्यक्ष सिंहले मलाई नेपाल झिकाएर खेलाउने निर्णय लिएर मेरा पिताजीसँग समन्वय गर्नु भएअनुसार म काठमाडौ पुगेँ ।
उपाध्यक्ष सिंहको पितृवत् कुशल अभिभावकत्व पाएँ । उहाँकै निर्देशन पालना गर्दै अघि बढ्दै जाँदा जिल्ला, प्रदेश हुँदै अहिले देशकै यू–१९ नेपाली महिला क्रिकेट टोलीको कप्तान बन्न सकेको छु । जे उपलब्धि देखिएको छ, पाइएको छ, त्यो क्यान र हाम्रो टोलीको साझा मेहनतको प्रतिफल हो ।
अबको योजना के छ ?
यो पनि भन्नु पर्छ र ! अब केही सातामै (नोभेम्बर मध्यमा)मलेसियामा एसियाकप प्रतियोगिता हुँदैछ । लगत्तै एक महिनापछि डिसेम्बरमा विश्वकप हुँदैछ । अब अहिलेको सपना भन्नुस्, ध्येय वा लक्ष्य भन्नोस्, यी दुवै प्रतियोगितामा सफलता हात पार्नु हो । मलेसियामा आयोजना हुने यी दुवै प्रतियोगिता जित्नु अहिले हाम्रो टोलीको एकमात्र अर्जुनदृष्टि हो ।
अन्त्यमा केही भन्नु छ कि ?
हजुर, मधेसमा प्रदेश सरकारले केही वर्षअघिदेखि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन गरेको छ । अब ‘बेटी खेलाउ’ पनि भन्न पर्यो भन्ने मेरो आग्रह छ ।
खेलले किशोर र युवा उमेरका हाम्रा दिदीबहिनीको शारीरिक सुगठन मजबुत हुनुको साथै घरबाहिरका गतिविधिमा सक्रियता बढाउँछ । अनुशासन सिकाउँछ । मनभित्रको दुर्वलता हटाउँछ ।
यसपालिको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि अहिले जारी छ । खेलमा बढीभन्दा बढी महिला सहभागिताले लैङ्गिक विभेदविरुद्धको अभियानलाई पनि सघाउँछ भन्ने मेरो विश्वास छ ।
प्रस्तुती : गोपाल बराल/रासस
प्रतिक्रिया दिनुहोस