२९ बैशाख २०८२ सोमबार | 12 May 2025 Mon

गोल्छा समूह र प्रिज्मा ग्रुप सिनेमा निर्माणमा

बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो सिनेमा ‘परान’ निर्माण हुने



  • आफ्नै खबर
  • ११ माघ २०८१ शुक्रबार (४ महिना अघि)
  • पाठक संख्या १३३
  • काठमाडौं/  प्रतिष्ठित व्यवसायिक घराना, गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा तथा प्रिज्मा एड्भटाइजिङका प्रमुख रन्जीत आचार्यको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रा.लि.को ब्यानरमा सिनेमा निर्माणको औपचारिक घोषणा गरिएकोे छ । कम्पनीले ‘परान’ सिनेमा निर्माणको औपचारिक घोषणा गरेको हो ।

    चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’का चर्चित पात्र ‘काकु’ को भूमिका निर्वाह गरेका दीपक आचार्यले सिनेमालाई निर्देशन गर्नुहुने भएको छ यो उहाँको डेब्यु निर्देशन पनि हुनेछ ।

    ‘परान’ मा नीर शाह केन्द्रीय भूमिकामा देखिनुहुने तथा शाहका अलावा मदन कृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहने बताईएको छ । 

    त्यस्तै सिनेमामा बालकलाकारका रूपमा निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्य समेतको अभिनय रहनेछ ।

    सिनेमाको छायाङ्कन काठमाडौं तथा धनकुटामा हुनेछ । सिनेमा घोषणा कार्यक्रममा बोल्दै शेखर गोल्छाले सिनेमा निर्माण गर्नु पछाडि नेपालीपन र संस्कृतिको समृद्धि रहेको बताउनु भयो । 

    ‘म उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा विभिन्न महोत्सवहरूमा जाने गर्थें । त्यहाँ हाम्रो नेपाली मौलिकता डाइल्यूट हुने गरी कार्यक्रमहरू हुन्थे र मैले जहिले पनि आयोजकहरूलाई हाम्रो मौलिकता नै डाइल्यूट हुने गरी कार्यक्रम गर्ने हो भने मलाई चाहिँ नबोलाइदिनुहोस्, म आउँदिन किनभने प्रमुख अतिथिका रूपमा मलाई बोलाइन्थ्यो’, उहाँले भन्नुभयो, ‘हाम्रा मुभीहरुमा पनि हाम्रो मौलिकता हराएको जस्तो लाग्छ । त्यो मौलिकता आउनुपर्छ । हामीले अरूको संस्कृतिलाई त्यसरी नै नक्कल गर्ने हो भने हाम्रो मौलिकता रहन्छ जस्तो लाग्दैन ।’

    सिनेमामा कुनै न कुनै तरिकाले मौलिकता पनि होस्, व्यवसायिकता पनि होस्, एउटा कर्पोरेट कल्चर पनि आओस् भन्ने सोच रहेको उहाँको भनाइ थियो । 

    त्यसैगरी, रन्जीत आचार्यले सन् २०१७ मै सिनेमामा आउने योजनासहित कम्पनी खडा गरे पनि तयारीका दौरानमा नै कोभिड महामारीका कारण काम सुरु गर्न नसकिएको बताउँदै, उपरान्त नेपालीपन बोकेको र नेपाली दर्शकका लागि सिनेमा बनाउने बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘हामीले फिल्म निर्माण गर्ने भनेर २०१७ मै कम्पनी खडा गरेका थियौँ तर २०२४ देखि प्रोजेक्ट अघि बढेको छ । अब निरन्तर नेपालीपन बोकेको फिल्म बनाउने छौँ । साथै अन्तर्राष्ट्रिय फिल्म निर्माण कम्पनीहरूलाई नेपालमा सहकार्य गर्न र लगानी गर्न लगाउने योजना रहेको, नेपालमै अन्तर्राष्ट्रिय सिनेमा निर्माण गर्न सहकार्य गर्ने योजना रहेको छ ।’