२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

 बिन्ध्यावासिनी माई रिजूको जात्रा 



  • लक्ष्मी थापा  
  • १८ फागुन २०८१ आईतबार (३ महिना अघि)
  • पाठक संख्या १२०४
  •           जातजाति, भाषा, धर्म अनेक थरिका 
             आ–आफ्ना चालचलन आफ्नै तरिका

    हो, यस्तै छ हाम्रो देश नेपाल र नेपालीको संस्कृति । उस्तै छ, दैलेख र दुल्लूको परम्परा पनि । 

    लक्ष्मी थापा  

    कर्णाली प्रदेशको सुन्दर पहाडी जिल्ला दैलेख झन्डै बत्तीसभन्दा बढी जातजातिको उद्गम थलोको रुपमा चिनिन्छ । यसरी जातिगत, भाषागत र धार्मिक विविधता भएकोले यहाँको लोकसंस्कृति र परम्परामा पनि भिन्नता रहेको छ । जन्मसंस्कार, मृत्युसंस्कार, छैठी, न्वारन, पास्नी, व्रतबन्ध, विवाह, देउता पुज्ने आदि यहाँका मुख्य परम्परा हुन् । 

    दैलेखको मुख्य परम्परा जात्रा पनि हो । यहाँका विभिन्न क्षेत्रमा तोकिएको स्थानमा, तोकिएको समयमा टाढा–टाढादेखि मानिसहरु जम्मा हुने, पूजापाठ गर्ने, नाचगान बजान गर्ने, भेटघाट गर्ने, किनबेच गर्ने र रमाउने प्रणालीलाई जात्रा भनिन्छ । 

    यदि कतै मानिसको हुलै थियो भनी व्यक्त गर्नु परेमा ‘मानिसको जात्रै थियो’ भनी जनाइन्छ । विभिन्न मन्दिर, चोकमा यस्ता जात्राहरु एक दिनदेखि दुई–तीन दिनसम्म चल्छन् । 

    विभिन्न उद्देश्यले एउटै स्थानमा जमघट भई रमाइलो गर्ने र आफ्नो लोक संस्कृतिको जगेर्ना गर्ने जात्रा परम्परा कहिलेदेखि सुरुवात भएको हो भनी एकिन गर्न नसकिए पनि जातिको उद्भवसँगै जात्रा प्रचलन भई आएको अनुमान गरिन्छ । पूर्खाले लगाएका जात्रा आज पनि पुस्तौँ पुस्ता हस्तान्तरित छन् र हाम्रो मौलिक पहिचानको रुपमा उभिएका छन् । 

    बिन्ध्यावासिनी माई रिजूको जात्रा  
    दैलेखको ऐतिहासिक एवं सामरिक स्थलको रुपमा चिनिएको दुल्लू नगरपालिका भित्र पनि थुप्रै जात्रा मनाइन्छन् । विभिन्न मठमन्दिर, शक्तिपीठ, चोक, चौतारा, त्रिवेणी वा पाखोतिर जात्रा गर्ने (मेला भर्ने) चलन छ । 

    यसै अनुसार दुल्लू नगरपालिको वडा नं. ५ मा रहेको रिजालहरुको उद्गम थलोको रुपमा रहेको रिजू गाउँ स्थित रिजालहरुको कुल देवीको प्रसिद्ध मन्दिर हो बिन्ध्यावासिनी । यो मन्दिर रिजू र पोखरा गाउँको सिमानामा झन्डै तीन हजार वर्गमिटर क्षेत्रफलमा रहेको छ । 

    प्यागोडा शैलीमा निर्मित यो मन्दिर निकै कलात्मक छ । शीरमा एउटा गजुर भएको मन्दिरको दुई तले छाना हाल सुनौला पाताले छाइएको छ । वरिपरि काठका थाम र साना ठूला सयौँ घण्टले सुसज्जित छन् । मन्दिरको अगाडि काठ बाँसका राता सेता नेजा सहितका अग्ला टाँगा छन् भने नजिकै दुई कोठे धर्मशाला रहेको छ । 

    यस मन्दिरमा वर्षको दुईपटक बैशाख पूर्णिमा (चण्डी पूर्णिमा) र मंसिर पूर्णिमाको समयमा मेला लाग्दछ भने प्रत्येक वर्ष तिहार (भाइटिका) को दिन पनि मेला लाग्दछ । यसबाहेक रिजूबासीले यस मन्दिरमा रुद्री, कथावाचन, सप्ताह, नवाह, दर्शन आदि लगाउने प्रचलन छ । 

    पंचकोशी तीर्थयात्राको बाटोमा बिन्ध्यावासिनी मन्दिर पर्ने भएकोले दर्शनार्थीको लहर बढ्दो छ । यहाँको जात्रामा रिजू लगायत, पोखरा, नाउले, नेपा, दुल्लू, रनुखाना, छिउडी, गमौडी, लम्जी, बडगाउँ, रावतकोट तथा सुर्खेतसम्मका मानिसहरु जम्मा हुन्छन् । 

    बिन्ध्यावासिनी देवी सम्बन्धी किंबदन्ती  
    बिन्ध्यावासिनी देवी को उत्पत्ती र मन्दिरको सम्बन्धमा लिखित इतिहास नभेटिए पनि स्थानीय जानकारहरुका अनुसार रिजूको मन्दिर भन्दा केही पर पूर्वतिरको पोखरा गाउँमा पर्ने एक पाखो बारीमा हलीले जोतेर आयो । जमिन मालिकले कहाँनेरसम्म जोत्यौ भनेर सोध्यो र भोलिपल्ट हेर्न जाँदा त्यो जमिन बाँझै थियोे । 

    यो प्रकृया केही समयसम्म चलेपछि एकदिन जमिनवालाले रिसले चुर हुँदै जमिनको बिचमा रहेको ढुंगा खनेर निकाल्यो । ढुँगा निकालेको ठाउँबाट देवीको मूर्ति निस्क्यो र अत्याधिक रक्तश्राव भई जमिनवाला, हली, हलो, गोरुसमेत रेवति खोला हुँदै बगेर गए । 

    यसपछि दुल्लूबाट रिजूमा बस्न आएका शाही परिवारका एक जना पुरूषको सपनामा देवीले मैँले यहाँ दुःख पाएँ । यहाँबाट लगेर रिजूको माटोमा राखेर ‘धमाला’ बाहुन ल्याई पूजा लगाऊ भनेको र त्यसै समयदेखि रिजू स्थित बिन्ध्यावासिनी मन्दिरको स्थापना भई धमाला (रिजाल) बाहुनबाट आजापूजा गरिँदै आएको किंबदन्ती पाइन्छ । 

    यस मन्दिरको नाउँमा रिजू गाउँमा गुठी समेत रहेको छ । हालका पूजारी–ज्ञानेश्वर उपाध्याय भन्नुहुन्छ, ‘यो प्रसंग १८५२ सालमा राजाको सनद लालमोहोरले पनि जनाउँछ । जसमा गुठी जमिन त्यहीका बाहुनले उपभोग गर्नु भनी उल्लेख गरिएको छ ।’

    यस मन्दिरमा टाँगो हाल्ने प्रचलनको बारेमा स्थानीय जानकारका अनुसार मुखिया घरका हर्क बहादुरले १९७५ सालमा सर्वप्रथम खुशी व्यक्त गर्न काठमा रुमाल टाँगी टाँगोको रुपमा मन्दिर अगाडि गाडेपछि यो परम्परा बस्यो र हाल एकै पटक सयौँ टाँगा गाडिँदा पनि पहिलो पालो मुखिया घरकै हुने चलन छ । कोही खुसी मिलोस् भनेर त कोही खुशी पाइयो भनेर दर्शन पूजा गर्न आउने हुनाले जात्राको रुप लिएको देखिन्छ । 

    पूजा विधि र जात्रा प्रचलन
    हरेक वर्ष हिउँदे र वर्षे बाली भित्र्याउने बेला रिजूबासीले अन्न काट्ने सुरुको दिन नुहाई धुवाई पवित्र भई एक मुठो बाली देवीको नाउँमा छुट्याई राखेका हुन्छन् । बैशाख चतुर्दशी र मंसिर चतुर्दशीको दिन नाङ्लो, ढिकी, लिपपोत गरी चामलको पिठो बनाई सालका पातका टपरीमा राखेर न्वाँगी (नुवाखी) लगेर मन्दिरमा चढाउने र भोलिपल्ट त्यहीको प्रसाद बनाई बाँड्ने गरिन्छ ।

    बिहान भने मन्दिरमा पूजा गर्ने र दर्शन गर्नेको घुइँचो हुन्छ । जौ, तिल, फुलपाती, टिका, दूध, धूप, बत्ती, गाथलाई रुमाल लगेर मन्दिरको वरिपरि प्रदक्षिणा गरी पूजा गरिन्छ । यो क्रम दिनभर चलिरहन्छ । 

    सोही दिन बेलुका मन्दिरको नजिकै रहेको देवीको भाइको रुपमा मानिने क्षेत्रपालको मन्दिरमा बाजागजासहित बोका बली दिएपछि जात्रा सकिन्छ । गाउँबासीले पुजारीको घरदेखि अघिल्लो बेलुका ल्याइएको पूजाका सामग्रीसहितको छत्र बाजा बजाउँदै घर फर्किने चलन छ । 

    जात्रामा पुरानो लोकसंस्कृति, गीत, मांगल, ढुस्को, फुर्को, भैनी, भैलो, धमारी, देउडा, हुड्को तथा दुलाल भाका गुन्जेको सुन्न पाइन्छ । तब त मानिसहरु आफूलाई यी माथिका मध्ये कुनै न कुनै कलामा समाहित गर्ने उद्देश्यले पनि जात्रामा उपस्थित हुन्छन् ।

    अघिल्लो दिन बेलुका जब पुजारीको घरमा दमाहा बज्दछ तब घर–घरबाट साना–ठूला सबैको मन त्यतै तानिन्छ । अघि अघि बाजा, त्यसपछि सेतो पोशाकका पुजारीले पहेँलो पातिफूलको मालाले सजिसजाउ छत्र बोकेको, उस पछि पुरुषहरूले फुर्को खेल्दै र अन्तिममा महिलाहरुले मांगलका भाका यसरी घन्काउँदै उजेली रातको त्यो लस्करमा एकपटक हिड्न पाउनेले सोच्दछ कि, ‘यो भन्दा अर्को आनन्द कहिँ छैन ।’ 

    एक जोडा महिला–     जा.......री......अ....ई....ज.....म.......ऊ.....
     

    अर्को समूह–            जैका घर आमा बाबा सोही रामणो ।
                                 दुवै न दुबारी चौण दुवै हरियो ।।
                                 बिन्ध्यासैनी देवतीको माथै भरियो । 
                                 जैका घर बाजे–बज्यै सोही रामणो ।।

    यसरी रमाइलो गर्दै मन्दिर पुगेपछि पनि केटाकेटी पक्ष विपक्ष भई कोही देउडा त कोही ठाडो भाकामा गाउँछन्,  कोही धमारी, ढुस्को, चुड्किलो, देउडा, हुड्को, मारुनी, भैनी, भैलो, झ्याम्रे आदिमा भुल्दछन् भने हेरेर रमाउनेहरु सबैभन्दा खुसी हुन्छन् । 

    जस्तै–

    धमारीः               जसु घर जन्मन्छन् बाला मानिस, सोही घर घाङघुम्री बाजो 
                            सोही घर माइभगवती नाचना खेलना

    चुड्किलोः          कालिया घाटको कोइरालो न्याउ बासन लाइगो
                           जन बासेइ जन बासेइ न्याउचडि अधुर्याइलो लाइगो

    ढुस्कोः              काँकरी झुलको को होई लोक 
                           हाम्रा बाबा देखनन् थचुक्क बस
      

    ठाडो भाकाः      क्या राम्रा झुल्याको बाला रतनपुरी धान
                          फेरी पनि आयापन रिजू माईका थान
     

    यसरी विभिन्न प्रकारका लोक संस्कृति पस्किने थलो हो बिन्ध्यावासिनी माईको जात्रा । वरिपरि जंगल र ठूला चौरको बिचमा रहेको यो मन्दिर झट्ट हेर्दा पोखरा (कास्की) को बिन्ध्याबासिनी भन्दा कम छैन ।  

    संस्कृती जोगाउने चुनौती
    वर्तमान समयमा बदलिंदो सोच र रित्तिदो गाउँ–बस्तीको आधारमा भन्ने हो भने पहिलेको जात्राभन्दा अहिलेको जात्रा विस्तारै घट्दो क्रममा छ । पूर्खाले सृजना गरेका लोक संस्कृति लोप हुने अवस्थामा छन् । भौतिक सम्पत्ति मात्र सम्पत्ति होइन, यहाँका लोक संस्कृति तथा परम्परा पनि हाम्रो पहिचानका सामाजिक वैभव हुन् ।

    त्यसकारण, बिन्ध्यबासिनी माईको जात्रा परम्परालाई जोगाई राख्नका लागि रिजाल परिवार, स्थानीयबासी, स्थानीय सरकार सबैले चासो, चिन्ता र सरोकार राखी सम्वर्द्धन, संरक्षण र प्रचार प्रसार गर्नु पर्ने बेला भएको छ । 

    जात्राको बेला मात्र नभई अघिपछि पनि नयाँ पुस्तालाई यहाँको परम्पराको जगेर्ना गरी हस्तान्तरण गर्ने खालका कार्यक्रमहरु गर्नु पर्छ । मन्दिर वरपर फुल बगैँचा बलियो र आकर्षक घेरबार गरी पर्यटन विकासमा टेवा पुर्याउनु पर्छ । 

    -दुल्लु ५, दैलेख,