२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

मजदुरी गरेको इतिहास, अहिले चलाईरहेछन् ‘घरबास’ 



  • रामचन्द्र रायमाझी
  •     (२ महिना अघि)
  • पाठक संख्या ९८
  • पाल्पा/  रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोटका धनबहादुर सारु ज्याला मजदूरी गरेरै परिवारको गुजारा गर्नुहुन्थ्यो । आफूसँग भएको आधा विघा जमिनले खान पनि नपुग्ने भएकाले उहाँ गाउमै खेतीपाती र अन्य काममा मजदूरी गर्दै आउनुभएको थियो । त्यही मजदूरीको भरमा सारुले आठ जनाको परिवार पाल्नुभएको थियो । 

    पर्यटकीय स्थल फोक्सिङ्गकोट नजिकै वस्तीमा बसोबास गरिरहनुभएका उहाँले हाल मजदूरी गर्न छाड्नुभएको छ । केही समययता उहाँको वस्तीमा होमस्टे (घरवास पर्यटन) सञ्चालन भएपछि अर्काकोमा मजदूरी गर्नुपर्ने बाध्यता हटेको उहाँ बताउनुहुन्छ । 

    सारु मजदूरी छाडेर होमस्टेकै व्यवस्थापन र पाहुनाको स्वागतमा लाग्नुभएको छ । होमस्टेबाट राम्रै आम्दानी हुने भएपछि उहाँ उत्साहित हुनुहुन्छ । 

    यस्तै स्थानीय रनबहादुर सारुले गाउँमै होमस्टे सञ्चालन भएपछि आफूहरुका लागि आयआर्जन पनि हुने र आफ्नो कला, संस्कृतिलाई चिनाउने अवसर समेत मिल्ने भन्दै खुसी व्यक्त गर्नुभयो । धनबहादुर र रनबहादुर मात्र होइन, यहाँका वासिन्दा होमस्टे सञ्चालनमा आएपछि उत्साहित भएका छन् । 

    आफ्नो कला, संस्कृति, रीतिरिवाजसहितको पहिचान खोजिरहेको अवस्थामा होमस्टे सञ्चालन जनजाति समुदायका लागि एउटा अवसर हुने स्थानीय टेकबहादुर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘होमस्टे सञ्चालनबाट हामीले आफ्नो कला, संस्कृति चिनाउन पाउनेछौँ । मगर, जनजाति समुदायको पहिचानको प्रचार–प्रसार हुनेछ ।’ 

    बाहिरका मानिसलाई आफ्नो चालचलनअनुसार जे जे खानेकुरा छ, बनाएर खुवाउन र आफ्नो सांस्कृतिक पहिचान देखाउनुको साथै दुई÷चार पैसा आम्दानीको लागि होमस्टे राम्रो माध्यम बन्ने पुनको भनाइ छ । 

    पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले केही दिन अघि गाउँपालिकाको पहलमा स्थानीयले ‘रानीबास सामुदायिक होमस्टे’ सञ्चालनमा ल्याएका छन् । होमस्टे सञ्चालन भएपछि पर्यटक पनि आकर्षित हुन थालेका छन् ।

    समुद्र सतहदेखि करिब एक हजार दुईसय मिटर उचाइमा रहेको फोक्सिङ्गकोट गाउँमा पुग्ने पर्यटकले रानीबास गाउँबीचमा रहेको चुर्कीथान, माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी हिमालसँंगै अन्य हिमश्रृङ्खला, स्याङ्गजाको गल्याङ्ग बजार, रिमीघा लेक र टिमुरडाँडा, आर्यभञ्ज्याङ्ग, तानसेनको श्रीनगर, सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर, कालीगण्डकी नदी, राम्दीपुललगायतका मनमोहक दृश्य अवलोकन गर्न पाउनेछन् । 

    होमस्टेमा बास बस्ने पर्यटकहरुले स्थानीय झामे्र नाँच, मारुनी नाच, सालैजो, कौडा, ठूलो नाच, पञ्चेबाजा कला, संस्कृतिसमेतको आनन्द लिन पाउनेछन् । पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ बराबर खर्चमा प्याकेजको व्यवस्था मिलाइएको छ । कुखुराको मासुसहित दुई छाक खाना, एक नास्ता र बस्नका लागि प्याकेजमा सुविधा रहेको छ । 

    यहाँ स्थानीय उत्पादनका परिकार खुवाइन्छ । पर्यटकको मागअनुसार कोदोको ढिंडो, रोटी, मकैको आँटो, गुन्द्रुक, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिको सुँगुरको मासु, बटुक, सेलरोटीलगायका परिकारको स्वाद लिन पाइने होमस्टे सञ्चालक समितिकी अध्यक्ष देउकुमारी सारुले बताउनुभयो ।

    होमस्टे पुग्ने पर्यटकहरुको लागि अवलोकन गर्न जनजाति सङ्ग्रहालय समेत निर्माण गरिएको छ । यहाँ जनजातिका परम्परागत सिप, कला, कौशलका सरसमान व्यस्थितरूपमा सजाएर राखिएका छन् । साथै, मगर समुदायको भेषभुषा, ऐतिहासिक माटो र काठले बनेका भाँडा, हतियार, दैनिक जीवनमा प्रयोग हुने प्राचिन सामान सङ्ग्रहालयमा राखिएका छन् । 

    परम्परागत र आधुनिक सीपकलाको मिश्रणबाट सङ्ग्रहालय भवनलाई कुडुले घरको रूपमा निर्माण गरिएको छ । भवन तथा सङ्ग्रहालय निर्माणको लागि केन्द्र सरकार पर्यटन मन्त्रालय र स्थानीय सरकारको एक करोड १५ लाख रुपैयाँ खर्च भएको छ । 

    अहिले फोक्सिङ्कोटमा ९३ घरपरिवार मगर रहेका छन् । तीमध्ये १६ घरमा होमस्टे सञ्चालन गरिएको छ भने अन्य घरमा पनि विस्तार गर्ने योजना रहेको रानीबास होमस्टे सञ्चालक समितिले जनाएको छ । 

    यहाँ रैथाने बालीको नियमित उत्पादन, परम्परागत कला, संस्कृतिको जीवन्तता, प्राकृतिक सौन्दर्यता र एकै किसिमको मगर बस्ती भएका कारण नै गाउँपालिकाले होमस्टे सञ्चालनमा सक्रियता देखाएको पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

    आफ्नै घरमा पाहुनालाई राखेर आफैँले उत्पादन गरेको वस्तुबाट बनाएको खानाको परिकार बिक्री गरी स्थानीय मानिसले आम्दानी गर्ने यो एक भरपर्दो र सजिलो माध्यम पनि हो । होमस्टेमा आउने पाहुनाले केही न केही रकम खर्च गर्दछन् । 

    सामान्य आयस्तर भएका मानिसका लागि यो आर्थिक अवसर पनि हो । होमस्टेमा आउने पाहुनाले देख्ने दृश्य, वातावरण, संस्कृति र मानिसले गर्ने सेवासमेतको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मूल्य तिरिरहेका हुन्छन् । 

    यसले गर्दा पर्यटक आउँदा सहरका ठूला होटल र ठूला पर्यटन व्यवसायीले मात्र लाभ प्राप्त गर्ने होइन कि एउटा सामान्य दूरदराजमा बस्ने मानिसले पनि पर्यटनको महत्व बुझ्दै आर्थिक अवसर प्राप्त गर्दछ । यसबाट सामान्य ग्रामीण क्षेत्रमा बसोवास गर्ने मानिसले समेत पर्यटनको माध्यमबाट केही न केही आयआर्जन गर्न सक्छन् । 
    होमस्टे ग्रामीण पर्यटन विकासका लागि महत्वपूर्ण पूर्वाधार हो । ग्रामीण समुदाय अझ विशेषगरी आर्थिक तथा सामाजिक वञ्चितीकरणमा पारिएका महिला, आदिवासी जनजाति तथा अल्पसङ्ख्यक समुदायलाई आर्थिक सशक्तिकरण गरेर विकासको मूलधारमा ल्याउन होमस्टेले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । 
    त्यसैले होमस्टे स्थापना तथा प्रवर्द्धन सङ्घीय, प्रदेश तथा स्थानीय सरकार सबैको चासो र प्राथमिकताको विषय भएको छ ।
    नेपालमा होमस्टेको प्रचलन परम्परागत भए पनि पछिल्लो समयमा यसलाई कार्यविधि नै बनाएर व्यवस्थित गर्न खोजिएको छ । अहिले होमस्टे कार्यविधि २०६७ ले निर्देश गरेअनुरूप नै सञ्चालनमा छन् । 
    पर्यटकलाई ग्रामीण क्षेत्रको वास्तविक अनुभूति गराउने र पर्यटनको माध्यमबाट दूरदराजका मानिसको आयआर्जन तथा रोजगारीको अवस्थालाई दिगो विकाससँग जोडी पर्यटनमैत्री वातावरण बनाउने यस कार्यविधिको उद्देश्य रहेको छ । 
    होमस्टेले सबै प्रकारका पाहुनाहरूलाई बस्नको लागि वैकल्पिक र किफायती ठाउँ प्रदान गर्दछ । जहाँ प्रकृति र संस्कृतिको भरपुर आनन्द लिन सकिन्छ । अहिले नेपालमा तीनै तहका सरकारले होमस्टेलाई महत्वका साथ हेरेको पाइन्छ ।  
    –रासस