काठमाडौं/ काठमाडौंको व्यस्त सडक र नदी किनारमा कष्टकर जीवन बिताउने एक पात्रको हृदयस्पर्शी कथामा आधारित ‘बोतल’ नामक छोटो चलचित्र सार्वजनिक भएको छ ।
निर्देशक दिवश नेपालको लेखन निर्देशन र ३६० फिल्म्सको सहकार्यमा उक्त सामाजिक चलचित्र बनेको हो । मार्मिक छोटो चलचित्र बोतलले समाजको नजरबाट ओझेल परेका व्यक्तिहरूको दैनिकीलाई नजिकबाट दर्साउँदछ ।
उनीहरूले भोगेका तिरस्कार र अपमान लाई चलचित्र बोतलले प्रतिबिम्बित गरेको छ । चलचित्रले दर्शकहरुलाई न्यायको खडेरी परेको समाजमा सति साल झैं उभिन सक्ने जत्था खोज्न बाध्य तुल्याउँने निर्देशक नेपाल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘हामीले यो चलचित्रमार्फत समाजमा व्याप्त दमन र बेसहारापनको मुद्दालाई उजागर गर्ने प्रयास गरेका छौं ।’ एउटा सानो बोतल जस्तै, यी मानिसहरूको जीवन पनि समाजको लागि अर्थहीन जस्तो लाग्न सक्छ, तर उनीहरू भित्र पनि मानवीय भावना, संवेदना र अस्तित्वको बोध हुन्छ भन्ने कुरा चलचित्रमा दर्शाउन खोजेको उहाँले बताउनुभयो ।
चलचित्रमा नविन लुहागुन, दिपेश नेपाल, अनुज बिष्ट, सबिन रसाइली, गौरव आचार्य, दानियल शेर्पा र मदन बस्नेत लगायतका कलाकारहरूको अभिनय रहेको छ । टिकाराम आचार्य को छायांकन र सम्पादनमा निर्माण भएको चलचित्र बोतल ३६० इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत प्रदर्शन भएको छ ।
प्रतिक्रिया दिनुहोस