२१ जेठ २०८२ बुधबार | 04 Jun 2025 Wed

बन्दीपुरको पर्यटनमा उत्साह थप्दै ‘टासी’ चलचित्रको छायाङ्कन



  • आफ्नै खबर
  •     (२ दिन अघि)
  • पाठक संख्या ६३
  • तनहुँ/  पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको छायाङ्कन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित उक्त चलचित्रको आइतबारदेखि बन्दीपुरमा छायाङ्कन सुरु भएको हो । 

    बन्दीपुरमा उक्त चलचित्रको छायाङ्कनका लागि बन्दीपुर बजारलाई पुरानो शैलीमा सिङ्गारिएको छ । बन्दीपुरलाई पुरानो दार्जिलिङ बनाएर छायाङ्कन गर्न लागिएको हो । करिब एक साताको तयारीपश्चात् चलचित्रको छायाङ्कन सुरु गरिएको हो । 

    बन्दीपुर आसपासका विभिन्न उमेर समूहका करिब तीन सय स्थानीयलाई दैनिक एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म पारिश्रमिक दिएर कलाकारको रुपमा प्रयोग गरिएको छ । बन्दीपुरमा तीन दिनसम्म चलचित्रको छायाङ्कन हुने जनाइएको छ । 

    बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कन भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । होटल तथा पर्यटन व्यवसायी किसान प्रधानले विदेशी चलचित्रको छायाङ्कनले यस क्षेत्रको प्रचारप्रसार हुने बताउनुभयो ।

    चलचित्र टोली एक सातादेखि बन्दीपुरमा बसिरहेको र यसले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उहाँको भनाइ छ । 

    चलचित्र छायाङ्कनले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विदेशी चलचित्रको छायाङ्कनका लागि बन्दीपुर रोजाइमा पर्नु हाम्रा लागि खुसीको कुरा हो । यसले यहाँको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्नेछ ।’

    सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर चलचित्र निर्माण गर्न लागिएको जनाइएको छ । अमेरिकी कम्पनी एप्पलले यो चलचित्रको निर्माण गर्न लागेको हो ।

    –रासस