२ असार २०८२ सोमबार | 16 Jun 2025 Mon

अभिनव विष्णुचन्द्र गद्य कविता पुरस्कार पौड्याललाई



  • आफ्नै खबर
  • १ असार २०८२ आईतबार (१२ घण्टा अघि)
  • पाठक संख्या ४४
  • काठमाडौँ/  अभिनव साहित्य समाजले यस वर्षको अभिनव विष्णुचन्द्र वर्षोत्कृष्ट गद्य कविता पुरस्कारबाट बुद्धिसागर पौड्याललाई सम्मानित गरेको छ । उहाँ १० हजार रुपैयाँ नगदसहित सम्मानित हुनुभएको हो ।

    भैरव स्मृति भवनमा आयोजित कार्यक्रममा २८०औँ मासिक शृङ्खलाअन्तर्गत गृष्म कवि गोष्ठी र प्रमुख अतिथि प्राध्यापक तथा पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहालले आफ्नो मन्तव्यमा विद्यार्थी तथा अन्य कविकवयित्रीलाई लेख्नका लागि उत्प्रेरित गर्दै सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ ।

    विशेष अतिथिहरूमा शीतल गिरी, आरसी रिजाल, ध्रुव थापा, प्रदीपरत्न शाक्य, श्रीकृष्ण पुडासैनी मधुसुदन घिमिरे, खोलाघरे साहिँलो, गङ्गाप्रसाद भेटवाल, निर्मलरमण पराजुली आदि रहनुभएको थियो ।

    समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले कार्यक्रमको विषयमा सङ्क्षिप्त प्रकाश पार्दै वाचित कविताहरूको छोटकरी टिप्पणीका साथै क्रिष्टोफर कार्की, सरिता दुलाल, सङ्गीता गजुरेल, गीता खनाल र दिवाकर नेउपानेलाई प्रोत्साहन पुरस्कारका लागि सिफारिस गर्नुभएको थियो ।

    सृजना वाचन गर्नेहरूमा महेश्वर खनाल, गङ्गाप्रसाद भेटवाल, सुशील आचार्य, राजेशमान केसी, आरकेएन खडेरी, सुशील आचार्य, ठाकुरप्रसाद खतिवडा, ओमप्रसाद कोइराला, भावना नेउपाने, सुमन किरण, बद्रीप्रसाद सुवेदी, निशा केसी, सपना अधिकारी, बाजुराम पौडेल, हरि डाँगीलगायत ४० जनाभन्दा बढी रहनुभएको छ ।

    यसैगरी मुक्तक लेखन तथा वाचन प्रतियोगितामा सहभागी विद्यार्थीमा सुशान्त कोइराला पहिलो,  समृद्धि श्रेष्ठ द्वितीय, अंंशु कशजु श्रेष्ठ तृतीय तथा सोनिया पौडेल र श्रीषा बर्तौला तृतीय हुनुभयो ।