७ असार २०८२ शनिबार | 21 Jun 2025 Sat

इरानमा रहेका नेपालीको उद्धार भारतको सहयोगमा गरिने



  • आफ्नै खबर
  • ७ असार २०८२ शनिबार (६ घण्टा अघि)
  • पाठक संख्या ५०
  • काठमाडौँ/  इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताउनुभयो ।

    इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उहाँले त्यसप्रति भारत सकारात्मक रहेको बताउनुभयो । 

    परराष्ट्रमन्त्री डा. राणाले भन्नुभयो, ‘इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौँ ।’ 

    भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्मा पनि नेपालीको उद्धारका निम्ति भारत सरकारसँग निरन्तर सम्पर्क एवं समन्वयमा हुनुहुन्छ । 

    तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दैैछ । यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानमा रहेका नेपालीको उद्धारका लागि त्यहाँस्थित भारतीय दूतावासका उपप्रमुखसँग सम्पर्क र समन्वय गरिरहेको बताउनुभयो ।

    -रासस