भक्तपुर/ माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् ।
चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनीलाई नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुक हुनु स्वाभाविकै हो । हतारहतार अनलाइनमार्फत आफ्नो नतिजा खोज्न थालिन् । नतिजा आउँदा खुसीको सीमा रहेन । उनी सर्वोत्कृष्ट अङ्क ४ जिपिएसहित उत्तीर्ण भएकी थिइन् ।
सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जिपिए हासिल गरेकी उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भइन् भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनिन् ।
गोमाको थातथलो रामेछापको खनियापानी हो । उनि चार वर्षको उमेरमा अभिभावकसँग खनियापानीबाट भक्तपुर आएकी हुन् । परिवारको कमजोर आर्थिक अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाको बुबा मीनबहादुर श्रेष्ठले बताउनुभयो ।
‘एकातर्फ कमजोर आर्थिक अवस्था अर्कोतर्फ छोरी गोमाले सानै बेलादेखि पढाइप्रति रुचि राख्ने भएकाले आफ्नो थातथलो छोडेर भक्तपुर आएँ, कामको खोजी गर्दै । त्यो बेला गोमा चार वर्षकी थिइन्’, मीनबहादुरले भन्नुभयो, ‘रामेछापको खनियापानीबाट भक्तपुर झर्नुको खास कारण छोरीको पढाइनै हो ।’
भक्तपुर आएर इँटाभट्टामा काम सुरु गरेका मीनबहादुरले गोमालाई नजिकैको महेन्द्रग्राम माध्यामिक विद्यालयमा भर्ना गरिदिनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘खनियाँपानीको लेकबाट बेँसीसम्मको विद्यालय पुग्न एक घन्टा ओरालो लाग्नुपर्दथ्यो । यसैले ज्याला मजदुरी गरेर, इँटा पारेर, भारी बोकेर भए पनि पढाउँला भनी भक्तपुर सरेका हौँ । भक्तपुरमा कामको सिलसिलामा इँटाभट्टामा काम गरेँ, इँटा पारे, छोरीलाई इँटा भट्टासँगैको विद्यालयमा भर्ना गरिदिएँ ।’
दिउँसो विद्यालय जाने गोमा साँझ बिहान भने इँटाभट्टाको खलामा खेल्दै हुर्कन थालिन् । उमेरसँगै गोमाले बुबाआमाको काममा सघाउन थालिन् । दिउँसो विद्यालय जाने, साँझ बिहान खलाको इँटा सुकाउन ओल्टाइपल्टाई गर्ने उनको दैनिकी बन्दै गयो । त्यसरी नै गोमाले कक्षा ९ सम्म लगभग उनी रुटिनमा दैनिकी बिताइन् ।
कक्षा १० पुगेपछि भने गोमाले आफ्नो दैनिकीलाई केही परिवर्तन गरिन् । उनी भन्छिन्, ‘बुबाआमाले पनि अबको एक वर्ष पढाइ ध्यान दिन भन्नुभयो । एसइई दिनुपर्ने भएकाले विद्यालयले पनि पढाईमा जोड दिन सुझाव दिनुभयो । त्यसैले मैले आफ्नो दैनिकीलाई केही परिमार्जन गरेर पढाइमा ध्यान दिन थालेंँ । यसैको परिणाम आज मैले एसइईमा राम्रो नतिजा पाएँ ।’
गोमाको भविष्यको लक्ष्य डाक्टर बन्ने रहेको छ । तर, त्यसको लागि कडा मेहनतका साथ पढेर छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प नभएको उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘विज्ञान सङ्कायमा प्लस टु गरी नेपालको कुनै पनि मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकालेर एम बिबिएस पढ्ने लक्ष्य छ । एक असल डाक्टर बनेर मेरो जन्मदाता, देश र जनताको निःस्वार्थ रुपमा सेवा गर्नु नै मेरो मुख्य लक्ष्य हो । यसका लागि कडा मेहनत चाहिन्छ भन्ने ज्ञान छ । सोही अनुसार तयारी गर्छु ।’
सांसद थापाले ११ र १२ पढाइदिने
गोमा श्रेष्ठलाई भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले पूर्ण छात्रवृत्तिमा कक्षा ११ र १२ पढाउने घोषणा गर्नुभएको छ ।
सञ्चारमाध्यममा गङ्गाको बारेमा समाचार प्रकाशित भएपछि सांसद थापाले चासो व्यक्त गर्दै उनलाई छात्रवृत्ति दिने घोषणा गर्नुभएको हो । सांसद थापाले भन्नुभयो, ‘गोमाले चाहेको अवस्थामा उनलाई कक्षा ११ र १२ मा विद्यालयको शुल्क मात्र होइन पोसाक र किताबसमेत निःशुल्क दिने घोषणा गर्दछु ।’ गोमालाई भेटेर यसबारेमा कुराकानी गर्ने उहाँले बताउनुभयो ।
गोमाको चाहना भविष्यमा डाक्टर बन्ने रहेको छ । त्यसका लागि उहाँ कक्षा ११ मा विज्ञान सङ्कायमा भर्ना भई पठनपाठन गर्ने तयारीमा हुनुहन्छ । गोमालाई सांसद थापाले नासा कलेजमा छात्रवृत्ति दिने घोषणा गर्नुभएको हो । सांसद थापाले गोमालाई कक्षा १२ पछि पनि डाक्टर बन्न थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘गोमा जस्तो लगनशील र मेहनती छात्रालाई सहयोग गर्न पाउनु नै ठूलो कुरा हो’, सांसद थापाले भन्नुभयो, ‘उनले जुन परिस्थितिमा सामुदायिक विद्यालयमा अध्ययन गरेर ४ जिपिए ल्याइन्, त्यो अरु विद्यार्थीहरू विशेषगरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि प्रेरणाको स्रोत हो ।’
–रासस
प्रतिक्रिया दिनुहोस