म्याग्दी/ अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण योजनाले पूर्णता पाएको छ । ओरेन्ज युवा क्लबले २०७० सालमा पाखो सम्याएर सुरु गरेको खेलमैदान निर्माणकार्य आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएको हो ।
उपभोक्ता समितिका अध्यक्ष प्रेम पाइजा पुनले स्थानीय युवाहरूको अगुवाइमा समुदायबाट सुरु भएको खेलमैदान निर्माण सम्पन्न गर्न पर्याप्त आर्थिक स्रोत नहुँदा १२ वर्ष लागेको बताउनुभयो ।
‘यो ठाउँ पहिला पाखो थियो । डोजरले सम्याएर पर्खाल लगाउने, माटो भर्ने, तारजाली लगाउने, ढलान गर्ने, स्टेज र सार्वजनिक शौचालय बनाएर खेलमैदान तयार गरेका हौँ’, उहाँले भन्नुभयो, ‘सरकारी निकायबाट जति बजेट आउँछ त्यति बराबरको काम गर्नुपर्दा ढिलाइ भएको हो ।’
खेलमैदान निर्माणका लागि दोसल्लेवासीलाई पछिल्लो ६ वर्षयता अन्नपूर्ण गाउँपालिकाले निरन्तर साथ दिएको थियो । अन्नपूर्ण गाउँपालिकाबाट आव २०७६/७७ देखि २०८१/८२ सम्म ३४ लाख रुपैयाँ गण्डकी प्रदेश सरकारबाट पाँच लाख रुपैयाँ गरी ३९ लाख रुपैयाँ विनियोजन भएको थियो ।
चालु आवमा गाउँपालिकाले विनियोजन गरेको १० लाख रुपैयाँ र एक लाख १८ हजार रुपैयाँबराबरको श्रमदानमा खेलमैदानको बाहिरी भाग र स्टेज ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष पाइजाले बताउनुभयो ।
व्यवस्थित खेलमैदान निर्माण भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । ३१ मिटर लम्बाइ र १६ मिटर चौडाइको खेलमैदानमा बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने ओरेन्ज युवा क्लबका अध्यक्ष बेगबहादुर पाइजा पुनले बताउनुभयो ।
यसअघि उपल्लो दोसल्लेमा रहेको विद्यालय परिसरको खेलमैदानमा खेलकुद गतिविधि सञ्चालन गर्दा विद्यार्थीको पठनपाठन प्रभावित हुने गरेको थियो । अहिले बनेको खेल मैदानमा कुनातिर ढुङ्गाको सिँढी चिनेर दर्शक बसेर खेल हेर्न मिल्ने प्यारापिट छभने बाँकी तीनतिर तारजालीले घेराबार भएको छ ।
खेलमैदान निर्माणस्थलमा रहेको सार्वजनिक जग्गा अपुग भएपछि स्थानीय शेरप्रताप पाइजा र पार्वती पाइजाले १० आना जग्गा उपलब्ध गराउनुभएको थियो । पैतालीस घरपरिवार भएको दोसल्ले गाउँका युवायुवती र पौढहरू भलिबल र बास्केटबल खेल्ने गर्छन् ।
अन्नपूर्ण गाउँपालिका–७ का वडाअध्यक्ष मिलन पुर्जा पुनले दोसल्लेसहित साविक हिस्तान गाविसका पाँचवटै टोलमा पक्की खेलमैदान निर्माण गरिएको जानकारी दिनुभयो । घराम्दी, रिमा, औला र टिकोट टोलमा यसअघि नै खेलमैदान निर्माण भएको थियो ।
‘यस वडाको पाँच वटा टोलले आलोपालो गरेर एक वर्षमा एउटा मात्र खेलकुद मेला सञ्चालन गर्ने नियम बनाएका छौँ’, उहाँले भन्नुभयो, ‘खेलकुदको प्रवर्द्धन र पुरानो चलनको निरन्तरताका साथै मेलालाई व्यवस्थित गर्न वडाभित्र वर्षमा एउटामात्र मेला आयोजना गर्ने नियम बनाइएको हो ।’
–रासस
प्रतिक्रिया दिनुहोस