मुस्ताङ/ बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण थालनी गरिएको छ । यहाँ हाइअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने गण्डकी प्रदेश सरकारको लक्ष्यअनुरूप प्रारम्भिक चरणमा खेल मैदान निर्माण थालनी गरिएको हो ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा विनियोजित ३० लाख रुपैयाँमा खेलमैदान निर्माण सुरु गरिएको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । समुद्री सतहदेखि तीन हजार नौ सय मिटर उचाइमा रहेको बारागुङ–२ छेङ्गुर गाउँ माथिको पाखोमा मैदान निर्माण सुरु भएको उहाँले बताउनुभयो ।
‘चालु आवमा विनियोजित बजेटले स्थानीय उपभोक्ता समितिमार्फत खेलमैदान निर्माणको काम भएको हो’, कार्यालय प्रमुख दर्जीले भन्नुभयो, ‘सीमित बजेटमा यसपटक मैदानको जमिन सम्याउने, फिलिङ गर्ने, कटिङ गर्ने र ग्रेड मिलाउने काम सम्पन्न भएको छ ।’
उपभोक्ता समितिका सचिव गमबहादुर गुरुङले सीमित बजेटले प्रारम्भिक चरणका पूर्वाधार निर्माणअन्तर्गत फुटबल मैदान निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब स्टेज, प्यारापिट, ड्रेन र रङरोगनलगायत काम बाँकी छन् ।’
स्थानीय धावा छिरिङ गुरुङले यहाँ सुविधासम्पन्न हाइअल्टिच्युड खेलमैदान निर्माण भएमा खेल पर्यटनको विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । गण्डकी प्रदेश सरकारले हाइअल्टिच्युड अन्तर्राष्ट्रिय ट्रेनिङ सेन्टर निर्माण गर्ने लक्ष्यअनुरूप खेल मैदान निर्माण प्रारम्भ गरेको र यसलाई पूर्णता दिनुपर्ने उहाँको भनाइ छ ।
यहाँ नजिकै मुक्तिनाथ मन्दिर र अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत विश्वकै अग्लो उचाइमा रहेको भनिएको थोरङलापास रहेको छ । पछिल्लो सयम सडक यातायातको पहुँचसमेत भएकाले यहाँ अन्तर्राष्ट्रिय हाइअल्टिच्युड ट्रेनिङ सेन्टर पूर्वाधार उपयुक्त भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले उल्लेख गर्नुभयो ।
यहाँको पर्वतीय क्षेत्रमा सबै किसिमका खेलकुदको उपयुक्त प्रशिक्षण दिन सकिने र यसका लागि सरकारले छिटोभन्दा छिटो पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँको आग्रह छ ।
मुक्तिनाथ क्षेत्रमा अन्तर्राष्ट्रिय हाइअल्टिच्युड ट्रेनिङ सेन्टर बनेमा मुस्ताङको मात्रै नभई समग्र गण्डकी प्रदेशकै खेल पर्यटनको विकास हुने जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या गुरुङले उल्लेख गर्नुभयो ।
प्रदेश सरकारले यहाँ ट्रेनिङ सेन्टर निर्माणका लागि पाँच सय ७० रोपनी जग्गा आफ्नो नाममा ल्याउने योजना बनाएको छ । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरिएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी अञ्जना शर्माले जानकारी दिनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस