सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’
काठमाडौँ / दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा समालोचना विधाका चारवटा कृति लोकार्पित भएका छन् ।
ठाकुर शर्मा भण्डारीको समालोचनासङ्ग्रह ‘समदृष्टि’, युवराज मैनालीको समालोचनासङ्ग्रह ‘केही प्रतिभा केही प्रवृत्ति’ र रामप्रसाद पन्तद्वारा सम्पादित ‘समालोचनामा ठाकुर शर्मा भण्डारी’ तथा ठाकुर शर्मा भण्डारीद्वारा सम्पादित ‘संवार्तामा रामप्रसाद पन्त’ नामक कृतिहरू प्रमुख आमन्त्रित व्यक्तित्व महेश्वर शर्मा एवम् मञ्चासिन अतिथिहरूबाट सामूहिक रूपमा लोकार्पित भएको हो ।
समारोहलाई वैदिक सम्बोधन गर्दै साहित्यकार तथा साहित्यिक पत्रकार महेश्वर शर्माले पुस्तक लोकार्पणको अवसर प्रदान गरिनु सुखद अनुभूति भएको सुनाउनु भयो।
लोकार्पित कृति माथि सङ्क्षिप्त समीक्षात्मक टिप्पणी गर्ने वक्ताहरूमा ‘केही प्रतिभाः केही प्रवृत्तिका बारेमा डा. लेखप्रसाद निरौला, ‘संवार्तामा रामप्रसाद पन्त’ बारेमा प्रा.भागवत ढकाल, ‘समालोचनामा ठाकुर शर्मा भण्डारी’ माथि कृष्ण प्रधान तथा ‘समदृष्टि’ माथि प्रमोद प्रधान रहेका थिए ।
समारोहमा समालोचक युवराज मैनालीले आफ्नो कृतिमाथि सङ्क्षेपमा प्रकाश पार्दै कमलमणि दीक्षित र थीरेन्द्र मल्लको स्मरण गर्नुभयो ।
लोकार्पित पुस्तकहरूका बारेमा बोल्दै स्रष्टा ठाकुर शर्माले आफ्नो समालोचनासङ्ग्रह ‘समदृष्टि’ रमेश विकल प्रतिष्ठानले प्रकाशन गरिदिएको र कृतिको न्वारान कीर्तिशेष विजय चालिसेले गरिदिएको बताउनु भयो । अन्य तीन कृति दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित भएको थियो।
समारोहमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले आफ्नो मन्तव्यमा प्रतिष्ठानको गतिविधिमाथि प्रकाश पार्दै लोकार्पित कृतिका बारेमा समेत बोल्नु भयो।
समारोहमा समालोचक गोपी मैनाली, नेपाल लेखक सङ्घका अध्यक्ष वियोगी बुढाथोकी, कथाकार भागिरथी श्रेष्ठ तथा विराटनगरबाट आएकी साहित्यकार गङ्गा सुवेदीले शुभकामना मन्तव्य राखेका थिए।
प्रतिक्रिया दिनुहोस