७ साउन २०८२ बुधबार | 23 Jul 2025 Wed

केदारनाथमा बन्यो पदमार्ग



  • आफ्नै खबर
  • ६ साउन २०८२ मंगलबार (११ घण्टा अघि)
  • पाठक संख्या ५२२
  • स्याङ्जा/  गल्याङ नगरपालिका–७ स्थित धार्मिक एवम् पर्यटकीयस्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । गल्याङ–८ चिउरीस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट केदारनाथ मन्दिरलाई जोड्ने गरी पदमार्ग निर्माण गरिएको हो ।

    अग्लो पहाडमा अवस्थित केदारनाथ मन्दिरसम्म दर्शनार्थीको सहजताका लागि गल्याङ नगरपालिकाले पदमार्ग निर्माण गरेको हो । दर्शनार्थीलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष टुकराज पाठकले बताउनुभयो ।

    नगरपालिकाले पदमार्ग निर्माण गर्न आर्थिक वर्ष २०८०/८१ मा १० लाख रुपैयाँ र आव २०८१/८२ मा १० लाख रुपैयाँ विनियोजन गरेको उहाँले बताउनुभयो ।

    विनियोजित बजेटबाट तीन सय ८५ मिटर लामो पदमार्ग निर्माण गरिएको छ । मन्दिरसम्म पुग्न स्टिलको रेलिङ समेत जडान गरिएको छ । सुनौली–पोखरा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने भारतीय पर्यटकलाई समेत यसतर्फ आकर्षित गर्न सकिने उक्त  मन्दिरका पुजारी काशीराम सापकोटाले बताउनुभयो ।

    चट्टानै चट्टानले बनेको गुफाजस्तोमा रहेको मन्दिरमा भगवान शिवको प्रतिमूर्ति देख्न सकिन्छ । प्राकृतिक चट्टानबाट निर्मित शिवको प्रतिमूर्ति, नन्दीलगायतका अन्य थुप्रै आकृति यहाँ देख्न पाइने पुजारी सापकोटाले बताउनुभयो ।

    मन्दिरलाई व्यवस्थित बनाउन २०७२ सालमा महायज्ञ सञ्चालन गरिएको थियो । उक्त महायज्ञबाट सङ्कलित दुई करोड रुपैयाँबाट मन्दिरमा नयाँ संरचना तथा पूर्वाधार निर्माण गरिएको छ । मन्दिरलाई नयाँ स्वरुप दिइएको छ । सिद्धार्थ राजमार्गसँगै जोडिएको आँधीखोलामा बनेको अग्लो झोलुङ्गे पुल हुँदै झण्डै १५ मिनेटको पैदल दूरीमा यहाँ पुग्न सकिन्छ ।

    –रासस