पाल्पा/ बगनासकाली गाउँपालिकाकी एक युवतीले दुई वर्षअघि २१ वर्षको उमेरमा अन्तरजातीय विवाह गर्नुभयो तर उहाँको दाम्पत्य जीवन तीन वर्ष पनि टिक्न सकेन ।
एक सन्तानकी आमा उहाँ विवाह भएको दुई वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो । उहाँलाई श्रीमान् र घरपरिवारबाट घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शङ्का गर्ने र छोरालाई स्याहार नगरेको आरोप लगाउन थाले ।
आफूमाथिको आरोप मीनालाई सह्य नभएपछि घर झगडा सुरु भयो । श्रीमानले दिएको मानसिक तनाव बेहोर्न कठिन भएपछि उहाँले जिल्ला अदालतमा सम्बन्धविच्छेद सम्बन्धी मुद्दा दर्ता गर्नुभयो । त्यसपछि घरमा थप कलह बढ्यो ।
उहाँ आफ्नो घर त्यागेर माइती घरमा बस्न थाल्नुभयो । उहाँको पति–पत्नीको सम्बन्धविच्छेदको मुद्दा गएको जेठ १९ गते अलग हुने सहमतिमा मिलापत्र भयो । हाल ती युवती श्रीमान्बाट अंशसमेत नलिई सम्बन्धविच्छेद गरेर माइतमा बस्तै आउनुभएको छ ।
यसैगरी, रम्भा गाउँपालिकाकी अर्की महिलाले पनि सम्बन्धविच्छेद गर्नुभएको छ । विदेशमा रहनुभएका श्रीमानसँग अविश्वास बढेपछि बिहे गरेको चार वर्षमा सम्बन्धविच्छेद गर्नु पर्यो ।
तानसेनकी एक महिलाको पनि पीडा उस्तै छ । १३ वर्षको उमेरमा २०५९ सालमा विवाह गर्नुभयो । आमाबुबाको काखमा खेल्ने उमेरमा विवाह गर्नुभएकी उहाँले सोचेअनुसार वैवाहिक जीवन चल्न नसकेपछि जिल्ला अदालत पाल्पाबाट सम्बन्धविच्छेद गर्नुभयो ।
तिले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारीरिक यातना दिने । अन्य केटीसँग लागेका कारण उहाँले सम्बन्धविच्छेद गर्नुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सानैमा परिवारका केही सदस्यको करकापमा लतारेर विवाह गराइदिनुभयो । मैले धेरै दुःख पाएँ, श्रीमानले दिएको पीडा सहन नसकेपछि सम्बन्धविच्छेद गरेँ ।’
पारिवारिक खटपट भए पनि यसअघि सम्बन्धविच्छेदमा महिलाहरू मात्रै अग्रसर हुने गरेको देखिन्थ्यो । पछिल्लो समयमा पुरुषहरू पनि सम्बन्धविच्छेदका लागि धमाधम उजुरी दिन थालेका छन् ।
रम्भा गाउँपालिकाका एक युवाका आठ वर्षकी छोरी र डेढ वर्षका छोरा छन् । २८ वर्षको उमेरमै दुई छोराछोरी पाइसक्नुभएका उहाँले २४ वर्षकी श्रीमती सीमासँग २०८२ असार १९ गते सम्बन्धविच्छेद गर्नुभयो ।
श्रीमतीले टिकटक र फेसबुकमा कुराकानी गरिरहने, आफूसँग निहुँ खोजिरहने र भनेको नमान्ने भएकाले सम्बन्धविच्छेद गर्नु परेको उहाँले बताउनुभयो ।
रामपुरका ३५ वर्षीय अर्का युवाले पनि २७ वर्षीया श्रीमतीसँग सम्बन्धविच्छेद गर्नुभयो । २०७० मा प्रेमविवाह गर्नुभएका उहाँका पनि सात वर्षका छोरा र दुई वर्षकी छोरी छन् । ती युवाले श्रीमती परपुरुषसँग लागेको थाहा पाएपछि सम्बन्धविच्छेद गर्नुभएको हो ।
‘टिकटकमा परपुरुषसँगको भिडियो हाल्ने, परपुरुषलाई कोठामा बोलाउने, घर परिवारका सदस्यले भनेको नमान्ने भएपछि सम्बन्धविच्छेद गरी पाऊँ’, भनी उहाँले जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो ।
यी त केही प्रतिनिधि पात्र मात्र हुन् । अपरिपक्व विवाह, प्रेम विवाह र वैदेशिक रोजगारी जस्ता कारण पाल्पामा सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्यामा वृद्धि भएको छ ।
जिल्ला अदालत पाल्पामा तीन वर्षमा सम्बन्धविच्छेदका मात्र एक हजार तीन सय ५६ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । अदालत पाल्पाका स्रेस्तेदार केशव पराजुलीका अनुसार २०७९्८० मा चार सय ४३, २०८०्८१ मा चार सय २८ र २०८१्८२ मा चार सय ८५ मुद्दा दर्ता भएका थिए ।
अघिल्लो आर्थिक वर्षमा कुल आठ सय १५ मुद्दा दर्ता भएकामा सम्बन्धविच्छेदका मात्र चार ८५ रहेका छन् । अधिकांश वैदेशिक रोजगारीमा जाने युवायुवतीको घरायसी सम्बन्ध बिग्रेर सम्बन्धविच्छेदका लागि अदालतसम्म आउने गरेको भेटिने गरेको स्रेस्तेदार पराजुलीले बताउनुभयो ।
उहाँका अनुसार दर्ता मुद्दामध्ये एक हजार एक सय ४२ वटा फछर्यौट भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग, कम उमेरमा विवाह, वैदेशिक रोजगारजस्ता कारणले गर्दा पारिवारिक बेमेल भएकाले सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका हुन् । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रबाट बढी सम्बन्धविच्छेदका मुद्दा आउने गरेका उहाँको भनाइ छ ।
अझ रोचक तथ्य के छ भने यहाँ सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्या पनि बढ्दै गएको छ । गत आर्थिक वर्षमा चार सय ८५ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ६६ वटा मुद्दा पुरुषले दर्ता गरेका थिए ।
पुरुषले दिएका अधिकांश मुद्दा पक्षमा फैसला भएका छैनन् । महिला अर्थात् पत्नीलाई प्रतिवादी बनाएर पुरुष अर्थात् पतिले सम्बन्धविच्छेद गर्न माग गर्दै मुद्दा दिनेका सङ्ख्या बढेको छ । पछिल्लो वर्षमा यस्ता खालका मुद्दा बढेका हुन् । तर, दाबीसहितको प्रमाण अपुग हुने गरेको पाइएको छ ।
केही फैसला भने पक्षमा भएको छ । पुरुषले दर्ता गरेका अधिकांश मुद्दामा प्रमाण नपुगेको अदालतका तहसिलदार रामप्रसाद पोखरेलले बताउनुभयो । विपक्षी महिलाले प्रतिउत्तर नलगाएका मुद्दा र दाबी अनुसारका प्रमाण पुगेका केही मुद्दामा मात्रै पुरुषको पक्षमा फैसला भएको पोखरेलको भनाइ छ ।
‘पीडा दबाएर बसेका पुरुषहरू पनि नयाँ कानुन आएपछि सम्बन्धविच्छेद गर्न अग्रसर देखिएका हुन्’, स्रेस्तेदार पराजुलीले भन्नुभयो, ‘सम्बन्धविच्छेद अहिले फेसन भएको छ । सम्बन्धविच्छेद गर्न पतिपत्नीबीच प्रतिस्पर्धा हुने गरेको देखिएको छ ।’
सम्बन्धविच्छेद गर्न आउँदा उनीहरूले कुटपिट गरेको, खान लाउन नदिएको भन्ने गुनासो गर्ने गरेका छन् । तर, वास्तविकता त्योभन्दा फरक भएको पराजुली बताउनुहुन्छ ।
‘पछिल्लो समयमा सामाजिक सञ्जाल, श्रीमानहरू वैदेशिक रोजगारीमा रहेका महिलाहरू सम्बन्धविच्छेद गर्ने गरेको देखिएको छ’, उहाँले भन्नुभयो, ‘बर्सेनि सम्बन्धविच्छेद गराउनेको सङ्ख्या डरलाग्दो रूपले वृद्धि भइरहेको छ । अहिले त पुरुषको सङ्ख्या पनि बढ्दै गयो ।’
स्वतन्त्रता कि स्वच्छन्दता
स्वतन्त्रता र स्वच्छन्दताका नाममा सम्बन्धविच्छेदका घटनाले प्रशय पाएको स्रेस्तेदार पराजुली बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘सकेसम्म पुनः घरबार होस् भनेर हामीले मेलमिलाप गराउने प्रयास गरेका छौँ । तर, परिस्थिति सोचेअनुरूप नभएपछि एउटा निर्णय गर्न बाध्य छौँ ।’
यसलाई न्यूनीकरण गर्न समाज र अभिभावक सतर्क नरहने हो भने अझ भयावह बन्ने उहाँको बुझाइ छ । यसअघि पुरुषले स्थानीय तहमा मिलापत्र हुन नसके स्थानीय तहको सिफारिसमा मात्र अदालतमा मुद्दा दर्ता गर्न पाउने प्रावधान थियो ।
पत्नीसँग सम्बन्धविच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि एक वर्षको समय तोक्ने व्यवस्था थियो । तर, पछिल्लो कानुनले प्रक्रियामा सहज बनाएपछि पत्नीपीडित पुरुषहरू सम्बन्धविच्छेदमा अग्रसर हुने गरेको देखिएको अधिवक्ता शिवप्रसाद देवकोटाले बताउनुभयो ।
सम्बन्धविच्छेद बढ्नुका मुख्य कारण वैदेशिक रोजगार भएको उहाँको बुझाइ छ । अधिवक्ता देवकोटा भन्नुहुन्छ, ‘कामको खोजीमा श्रीमान् वैदेशिक रोजगारीमा जाने गरेका छन् । लामो समयसम्म श्रीमान् श्रीमती टाढिँदा दूरीका कारण पनि एकापसमा विश्वास घटेर शङ्काउपशङ्का गर्न थाल्छन् र सम्बन्धविच्छेदको बाटो खुल्छ ।’
कम उमेरमा विवाह, प्रेम विवाह, पितृ सत्तात्मक सामाजिक संरचनाबाट ग्रसित जस्ता कुराले पनि सम्बन्धविच्छेद हुने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रेमीप्रेमिकाले विवाह हुनुपूर्व एक आपसमा आश्वासन बाँड्ने तर विवाहपछि ती आश्वासन पूरा नगर्ने, अर्कोतर्फ माइतीमा आमा/बुबाले दिने मानसम्मान सासू, ससुराबाट नपाउँदा पनि घरायसी झगडाबाट श्रीमान्, श्रीमतीको सम्बन्ध टुट्न पुग्छ ।’ सूचना प्रविधिको प्रयोगबाट हुने विवाहमा पनि सम्बन्धविच्छेद हुने गरेको उहाँको भनाइ छ ।
सम्बन्धविच्छेदलाई आज पनि पारिवारिक रूपमा कठिन परिस्थितिका रूपमा चित्रण गरिन्छ । दम्पतीले वैवाहिक सम्बन्ध तोडेर अलग हुने निर्णय गर्दा यसको असर उनीहरूका सन्तानमा पर्ने गरेको छ ।
बच्चाहरूमा त्यस्तो प्रभाव लामो समयसम्म रहने महिला अधिकारकर्मी गङ्गा पौडेल बताउनुहुन्छ । सम्बन्धविच्छेदका सकारात्मकभन्दा नकारात्मक असर भेटिने उहाँको भनाइ छ तर सम्बन्धविच्छेदसँग बालबालिकाको उदासीपनसँगै सकारात्मक पक्ष पनि जोडिएको हुन्छ ।
पौडेल भन्नुहुन्छ, ‘दैनिक हुने झैझगडाबाट मुक्त हुँदा उनीहरूमा सकारात्मक असर पनि देखिएका हुन्छन् ।’
–रासस
प्रतिक्रिया दिनुहोस