३ भदौ २०८२ मंगलबार | 19 Aug 2025 Tue

परिचय र संस्कृति खोजिरहेको कुसुन्डा परिवार



  • आफ्नै खबर
  • २ भदौ २०८२ सोमबार (१० घण्टा अघि)
  • पाठक संख्या ५३
  • गोरखा/  ढिलो गरी वर्षा भएका कारण साउन महिना सकिँदा पनि गाउँले किसानहरूलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धानको रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा ।

    गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षका चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पीर । आफूजस्तै दिनरात श्रम गरेर खाने दौँतरीहरुसँग उहाँको समय बित्छ । 

    लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एक घर मात्र छ । चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नातिनातिनीसँग बस्दै आउनुभएको छ । घरले चर्चेको बाहेक कति पनि जग्गा नभएका उहाँलाई असार, साउन आए पो के, कात्तिक, मङ्सिर आए पो के ।

    ‘थुक्ने जग्गा पनि आफ्नो छैन’, उहाँ भन्नुहुन्छ, ‘सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गामा सरकारले बनाइदिएको सानो घर र दुई/चारवटा कुखुरा छन् । त्यत्ति हो । कुखुरा पनि थुनेर पाल्छौँ । नत्र अरूको जग्गामा गइहाल्छ ।’ 

    राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या दुई सय ५६ रहेको छ । तीमध्ये गोरखाका चेतबहादुरको आठ सदस्य पनि विगत ४५ वर्षदेखि यही बसोबास गर्दै आएको छ ।

    उहाँ २०३८ सालमा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आउनुभएको थियो । आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटिझाम्टो बोकेर तेह्रकिलो आएको चेतबहादुर बताउनुहुन्छ ।

    ‘१० वर्षको हुँदा बा बित्नुभयो, भोकले लखतरान हुँदै जुठो बारेको याद छ । बा’को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ’, उहाँले भन्नुभयो, ‘यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन । अब अरूको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’ भनेपछि जानै पर्यो ।’ 

    उहाँका दिदीबहिनी दुवैले तेह्रकिलो बजारमा बिहे गरेकाले आफूहरू पनि दिदीबहिनी नजिकै बस्न आएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘दुवैजनाले क्षेत्रीसँग बिहे गरेछन् । दिदीको बुढा गाडी चालक थिए । हामी पनि दिदीकै रेखदेखमा यहीँ बस्न आयौँ । यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर सवारी सहयोगीको काम गरेँ ।’ 

    खोप्लाङ छोडेर तेह्रकिलो झरेको केही समयपछि आफूहरू नवलपरासी पनि पुगेको उहाँ बताउनुहुन्छ ।

    उहाँ भन्नहुन्छ, ‘यहाँ बस्न आएको केही समयपछि आमाले कताबाट त्यहाँ सरकारी जग्गा मिल्छ भन्ने सुनेपछि हामी आमा छोरा नवलपरासी पनि झर्यौँ । जग्गा त केको मिल्थ्यो बरु उल्टै दुःख मिल्यो । आमाले अरूको घरमा काम गर्नुहुन्थ्यो । सानो झुप्रो हालेर बसेका थियौँ । मलाई भने त्यहाँ खासै बस्न मन लागेन, अनि एक वर्षपछि तेह्रकिलोमै फर्कियौँ । म यहाँ आको केही वर्षपछि आमा पनि फर्किनुभयो ।’

    चेतबहादुरले २०–२२ वर्षको उमेरमा नजिकैको पन्ध्रकिलो बस्ने कमला घर्तीसँग बिहे गर्नुभयो । बिहेपछि पैसा कमाउने लालसाले दुईपटक कतार र एकपटक साउदी पनि पुग्नुभयो । चेतबहादुर र कमलाको दुई छोरा र एक छोरी छन् ।

    उहाँहरुको जेठो छोरो अनिल अर्काको गाडी चलाउँछन् । छोरी अनिता तेह्रकिलोकै मगर परिवारमा बिहे गरेर गएकी छिन् भने कान्छो छोरो अशोक हाल वैदेशिक रोजगारीमा छन् । हाल उहाँको परिवारमा दुई छोरा, बुहारीहरु, तीनजना नाति र एक नातिनी छन् ।

    हाल बस्दै आएको एकपाखे घर पनि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको उहाँले बताउनुभयो ।

    उहाँलाई न कुसुन्डाको भाषा थाहा छ, न रीतिरिवाज, न त वेशभूषा नै । न उहाँले अन्यत्रका कुसुन्डा समुदायसँग चिनजान, आउजाउ गरेका छन् । गोरखा दरबार सङ्ग्रहालयमा आफ्नो जातिको डमी राखेको देखेर भने उहाँ खुसी हुनुहुन्छ ।

    उहाँले भन्नुभयो, ‘अन्ततिरको कुसुन्डाहरुले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु । अब हामीलाई त केही थाहा छैन । बाउबाजेसँग सङ्गत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिको बारेमा केही थाहा हुन्थ्यो होला ।’

    आफूहरूले अरू हिन्दूहरुसरह नै सबै चाडपर्व मनाउँदै आएको चेतबहादुरले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘दसैँ, तिहार सबै मनाउँछौँ । अरूहरूले सरह नै हरेक वर्ष वायु पूजा, कुलायन पूजा पनि गर्छौं । हाम्रो कुलायन पूजामा चाहिँ भाले चढाउनु पर्छ ।’

    –रासस